माओवादीको पदाधिकारी बैठक सर्यो
प्रकाशित मिति
२०८० पुष ४ गते, बुधबार ०४:०८
पुस ४, २०८० काठमाडौँ: नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सारिएको छ । आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको बैठक सारिएको हो । पार्टीका कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार आजको बैठक सारेर बिहीबार बिहान ८ बजे बस्ने तय भएको छ । बैठक बालुवाटारमा बस्नेछ ।
आजको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यस्थताका कारण सारिएको उनले बताए । “प्रधानमन्त्रीको व्यस्थताका कारण बैठक सारिएको हो । भोलि बिहान ८ बजे बालुवाटारमा बस्नेछ,” उनले भने ।
पदाधिकारी बैठक बुधबार बालुवाटारमा बसेको थियो । बैठकमा प्रचण्डले कार्यसूची पेस गर्दै समसामयिक विषयमा धारणा राखेका थिए । प्रधानमन्त्रीले पार्टीका उपमहासचिव हरिबोल गजुरेलले प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएकोबारे बैठकलाई जानकारी गराएका थिए । बैठकमा प्रदेश इन्चार्जहरुले पार्टीको जारी रुपान्तरण अभियानबारे ब्रिफिङ गरेका थिए ।
अबको बैठकबाट केन्द्रीय समिति बैठक र विधान सम्मेलनको मिति तोक्ने तयारी छ ।
प्रतिकृया