२८ दिनभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने दाबी
प्रकाशित मिति
२०८० पुष ४ गते, बुधबार ०३:४६
पुस ४, २०८० काठमाडौँ: मेलम्ची खानेपानी विकास समितिले अबको २८ दिनभित्र काठमाडौंमा पानी ल्याउने दाबी गरेको छ । आधा हिउँद सकिँदा पनि मुहान सफा गरेर पानी ल्याउन बेवास्ता गरेपछि उपत्यकावासी प्रदर्शनमा उत्रिन थालेपछि समिति पानी ल्याउन तातेको हो ।
दुई दिन अघिसम्म पानी कहिले आउँछ भन्ने ठेगान नभएको बताएको समितिले विज्ञप्ति जारी गर्दै दुई सिफ्टमा काम गरेर २८ दिनभित्र पानी काठमाडौं ल्याउने बताएको हो । आयोजना र ठेकेदारबीच सहमति भएको भन्दै अबको २८ दिनभित्र पानी झारीसक्ने दाबी विज्ञप्तिमा गरिएको छ ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा समितिको मंगलबार बसेको बोर्ड बैठकले मुहान क्षेत्रमा तत्काल सुरु गर्न आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय गरेसंगै समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ ।
बैठकले निर्माण पक्ष सिनोहाइड्रोलाई तत्काल काममा लगाउने निर्णय समेत गरेको समितिले जनाएको छ । आकस्मिक परिस्थिति नआए बढीमा २८ दिनमा पानी पठाउने गरी काम गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया