• 4:38 pm

आइपिएलमा पैसाको बाढी, ७२ खेलाडी किन्न १० क्लबले खर्चिए ३ अर्ब ७० करोड

प्रकाशित मिति

२०८० पुष ४ गते, बुधबार ०३:५०

पुस ४, २०८० काठमाडौँ: इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलाडी अक्सनमा १० फ्रेन्चाईजी टिमले पैसाको खोलो बगाएका छन् । जसका कारण यसपटकको आइपएिल अक्सनमा नयाँ रेकर्ड कायम भएको छ । मंगलबार सम्पन्न आइपिएलको खेलाडी अक्सनमा अस्ट्रेलियाका मिचेल स्टार्क, प्याट कमिन्स र स्पेन्सर जोनसन कीर्तिमानी रकममा बिकेका छन् ।

तीन खेलाडीका लागि आइपिएल फ्रेन्चाईजीले ५५.२५ करोड भारु खर्च गरेका छन् । अक्सनमा १० फ्रेन्चाईजीले ७२ खेलाडी २३०.४५ करोड भारु (करीब ३ अर्ब ७० करोड नेपाली रुपैयाँ) मा किनेका छन् । जसमा ३० विदेशी र ४२ भारतीय खेलाडी बिक्री भएका छन् ।

लिलामीमा ७२ खेलाडी बिक्री भएका थिए जसमा २६ बलर र २५ अलराउन्डर थिए । बलरका लागि ९०.०५ करोड भारु खर्च भयो । यस अक्सनमा अष्ट्रेलियाका मिचेल स्टार्क सबैभन्दा महँगा बलर बने । उनलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोड भारुमा किनेको थियो । उनी आइपिएल इतिहासकै महंगा खेलाडी बनेका छन् ।

त्यस्तै अष्ट्रेलियाका प्याट कमिन्सलाई सनराइजर्स हैदरावादले २०.४५ करोड भारुमा किनेको छ, उनी आइपिएल इतिहासका दोस्रो महँगो खेलाडी बनेका छन् । त्यस्तै यस अक्सनमा बलर हर्षल पटेल भारतीय महंगा खेलाडी बने । पटेललाई पञ्जाब किंग्सले ११.७५ करोड भारुमा किनेको छ ।

यस अक्सनमा भारतीय अनक्याप खेलाडीमाथि पनि फ्रेन्चाईजीले पैसा बर्षाएका छन् । जसमा आक्रामक ब्याट्सम्यान समीर रिजवीलाई चेन्नई सुपर किंग्सले ८.४० करोड भारुमा किनेको छ । त्यस्तै महँगोमा विकेका विदेशी खेलाडीमा न्यूजिल्याण्डका डेरिल मिचेल पनि रहेका छन् ।

उनलाई चेन्नईले १४ करोडमा किन्यो भने वेस्ट इन्डिजका अल्जारी जोसेफलाई रोयल च्यालेन्जर्स बैंगलोरले ११.५० करोड भारुमा किनेको छ । त्यस्तै अस्ट्रेलियाका स्पेन्सर जोन्सनलाई गुजरात टाइटान्सले १० करोड भारुमा किनेको छ । त्यस्तै भारतीय खेलाडी शिवम मावी, उमेश यादव, शार्दुल ठाकुर र जयदेव उनाडकटले पनि १ करोडभन्दा बढी मूल्य पाएका छन् ।

प्रतिकृया