• 9:40 pm

पालमा बस्दै आएकी भूकम्पपीडित बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

प्रकाशित मिति

२०८० मंसिर १४ गते, बिहीबार ०१:००

मंसिर १४, २०८० जाजरकोट : कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको हो ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको जानकारी दिए ।

उनका अनुसार गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएको थियो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पमा १५३ जनाको मृत्यु भएको थियो भने ३४६ घाइते भएका थिए ।

भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्ण रुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्रतिकृया