• 7:40 pm

झापाका नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा ८८ वर्षीय पूर्णानन्द शर्माको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

प्रकाशित मिति

२०८० मंसिर १२ गते, मंगलवार ११:१३

मंसिर १२, २०८० काठमाडौँ: नेपाली कांग्रेस झापाका पूर्व सभापति एवं नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा ८८ वर्षीय पूर्णानन्द शर्माको विर्तामोड स्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचारका क्रममा हिजो अपरान्ह ४ः३० बजे निधन भयो । कमल गाउँपालिका ५ मंगलबारे निवासी शर्माको स्वास्थ्यमा समस्या देखिएपछि केहि वर्ष यता निरन्तर रोगसँग जुधिरहनु भएको थियो । उहाँको पार्थिव शरीरलाई कनकाई माईमा आज बिहान ११ बजे दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । बिपी कोइरालाको अनुयायीका रुपमा रहनु भएका शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलन र संघर्षका क्रममा पटक–पटक गरी ६ वर्ष जेल र केही वर्ष निर्वासनमा बस्नु भएको थियो । पार्टी प्रतिवन्धितकालमा वि.सं. २०३९ देखि २०४२ सम्म उहाँ झापाको सभापति, स्वर्गीय सीके प्रसाईको सभापतित्वकालमा जिल्ला सचिव हुनुहुन्थ्यो ।

वि.सं. २०१२ सालमा नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा होमिनु भएका स्वर्गीय शर्मा वि.सं. २०५१ को आम निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । उहाँले पार्टीसँगै शैक्षिक क्षेत्र तथा स्थानीय सामाजिक संघ–संस्थाहरुमा समेत योगदान पु¥याउँदै आउनु भएको थियो । आफ्नो व्यक्तिगत भोगाई, जेल जीवन, पछिल्लो राजनीतिक अवस्था समेटेर ‘त्यागको परिणाम’ नामक पुस्तक समेत उहाँले प्रकाशन गर्नु भएको थियो । त्याग, समर्पण र निष्ठाका प्रतिक शर्मा अत्यन्त सरल, सादगी र समाजवादी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । उहाँको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको छ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “त्याग, समर्पण र निष्ठाका एक अग्रज र प्रेरणादायी व्यक्तित्व एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा पूर्णानन्द शर्माको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखीत बनाएको छ । नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

प्रतिकृया