• 1:21 pm

केपी ओली कप: मधेस प्रदेशले सुदूरपश्चिमलाई ८ विकेटले हरायो

प्रकाशित मिति

२०८० मंसिर ११ गते, सोमबार १२:००

मंसिर ११, २०८० पोखरा : पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले सुदूरपश्चिमलाई ८ विकेटले हराएको छ । सुदूरपश्चिमले दिएको ५८ रनको भिनो लक्ष्य पछ्याएको मधेसले ४ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।


मधेसका ओपनर अनिल शाहले सर्वाधिक २५ रन बनाए । उनले ११ बलमा ३ चौका र २ छक्का प्रहार गरे । इम्रान शेखले १७ रन बनाउदा पवन सराफ ५ बलमा १७ रन बनाएर अविजित रहे । बलिङ तर्फ सुदुरपश्चिमका गजेन्द्र बोहराले २ विकेट लिए ।


त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले १५ ओभर ५ बलमा सबै विकेट गुमाएर५८ रन बनाएको थियो । सुदूरपश्चिमका नरेन शाउदले सर्वाधिक १८ रन बनाए । सुदूरपश्चिमका शाउदले बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


सुदूरपश्चिमलाई सस्तोमै समेट्न हरिशंकर शाहले ४ र रुपेश सिंहले ३ विकेट लिए । विशाल पटेल, प्रदीप पासवान र विशाल सुश्लिङले १(१ विकेट लिए ।


यो जितसँगै समूह सी मा रहेको मधेस प्रदेश र नेपाल पुलिस क्लबको समान २-२ अंक भएको छ । मधेससँग हार बेहोरेको सुदूरपश्चिम भने अंकविहीन छ । अब मंगलबार हुने सुदूरपश्चिम र पुलिसबीचको खेलले सेमिफाइनलको टुंगो लाग्नेछ ।


यसअघि एपीएफ र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतिकृया