राष्ट्रिय व्यवसायिक पहलको चौथो जिम्मेवार व्यवसाय सम्मेलन (4th Responsible Business Summit) काठमाडौंमा मसिर २१ र २२ गते आयोजना हुने
प्रकाशित मिति
२०८० मंसिर १० गते, आईतवार ०५:१०
मंसिर १०, २०८० काठमाडौँ: राष्ट्रिय व्यवसायिक पहलको चौथो जिम्मेवार व्यवसाय सम्मेलन (4th Responsible Business Summit) काठमाडौंको हायात रिजेन्सीमा मसिर २१ र २२ गते दुई दिनसम्म आयोजना हुँदैछ । विगत् २०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौथो संस्करण “Adapting to Emerging Business Realities” भन्ने नाराका साथ हुन लागिरहेको छ । उक्त कुरा आज राष्ट्रिय व्यवससायिक पहलको प्रेस सम्मेलन मार्फत दिइएको हो ।
उक्त सम्मेलनमा नेपालका उद्योग व्यवसायहरूले बदलिँदो परिस्थिति र उदीयमान नव आयामहरूको परिप्रेक्ष्यमा जिम्मेवारपूर्ण ढंगले के कसरी अघि बढ्न सक्दछन् भन्ने सम्बन्धमा समाज, वातावरण तथा अर्थतन्त्र गरी ३ विधाको ११ वटा विषयहरूमा विभिन्न प्रस्तुतिहरू मार्फत गहन छलफल गरिने आजको प्रेस सम्मेलनमा बताइएको थियो । समाज विधा अन्तर्गत आधुनिक दासत्व तथा मानव बेचबिखन, व्यवसायिक आचारसंहिता र संस्थागत सामाजिक उत्तरदायित्त्व, व्यावसायिक स्वास्थ्य तथा सुरक्षा, र व्यवसाय तथा मानव अधिकार गरी चार विषय रहनेछन् । वातावरण विधामा पर्यावरणमा व्यावसायिक असरको व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी र नवीकरणिय उर्जा सम्बन्धी विषय रहनेछन् । त्यसैगरी, अर्थतन्त्र विधामा व्यवसायिक वातावरण निर्माण, नवप्रवर्द्धन तथा उद्यमशिलता, डिजिटल अर्थतन्त्र र व्यावसायिक निरन्तरता योजना गरी चार विषय रहनेछन् ।
कार्यक्रममा नेपाल तथा भारत, अस्ट्रेलिया, सिंगापुर, जापान लगायत विभिन्न देशका विज्ञ तथा वक्ताहरुको प्रस्तुती रहनेछ । ३० भन्दा बढी वक्ताहरु रहने यस कार्यक्रममा ३०० भन्दा बढी व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरु, शिक्षाकर्मी, नागरिक समाज, सरकारी निकाय, बैंक तथा वित्तिय क्षेत्रको सहभागिता रहनेछ ।
विश्वव्यापी महामारीको असर, सञ्चार प्रविधिको द्रुत विकास र प्रभाव साथै विश्वव्यापी चासोको विषय रहेका डिजिटल अर्थतन्त्र, जलवायु परिवर्तन, प्रदुषण तथा मानव अधिकारको संरक्षण लगायतका विभिन्न कारणहरुले गर्दा उद्योग व्यवसायले आफ्नो व्यावसायिक रणनीति र सञ्चालन प्रक्रियालाई परिमार्जन र अनुकूलन गर्नुपर्ने आवश्यकता गहन बन्दै गएको हुनाले हाम्रो सम्मेलन अझ बढी सान्दर्भिक हुने ठान्दछौं ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट प्राज्ञिक साझेदार रहेको छ भने निजी क्षेत्रका अग्रणी संस्थाहरुको सहकार्य रहनेछ।
आजको प्रेस मिटमा उपाध्यक्ष सुकुन्ता लाल हिराचन, संस्थापक अध्यक्ष पद्म ज्योति, अध्यक्ष कुश कुमार जोशि, महासचिव सुरेन्द्र मालाकार र आरबीएस संयोजक दिपक मल्होत्राको उपस्थिति थियो ।
प्रतिकृया