• 9:33 am

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आजदेखि खुला

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ११:१६

कात्तिक १६, २०८० काठमाडौँ: कात्तिक १६ गतेदेखि भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । यस अघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १९ लाख १२ हजार ५०० कित्ता आईपीओ विक्री खुला गरेकोमा १४ लाख २४ हजार ५९० कित्ता मात्र विक्री भएको छ । स्थानीयमा विक्री हुन नसकेको ४ लाख ८७ हजार ९१० कित्ता आईपीओ समेत थप गरी सर्वसाधारणमा विक्री गर्न लागिएको हो ।


आयोजना प्रभावित स्थानीयमा कम्पनीले कात्तिक १ गते र वैदेशिक रोजगारीमा रहेका नेपालीमा असोज १५ गते आईपीओ बाँडफाँट गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा १ लाख ९१ हजार २५० कित्ता आईपीओ बाँडफाँट गरिएको हो । अब ९५ हजार ६२५ कित्ता सामूहिक लगानीकोषका लागि र ३८ हजार २५० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको २० लाख ७५ हजार २८५ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।


सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ विक्री अवधि छिटोमा कात्तिक २० गतेसम्मका लागि तोकिएको छ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा मंसिर १ गतेसम्म विक्री लम्बिनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमानै मागभन्दा बढी आवेदन पर्ने गरेकाले यो कम्पनीको आईपीओ पनि छिटो अवधिसम्म मात्र विक्रीमा रहने निश्चित देखिन्छ ।


यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन समेत आवेदनका लागि प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।


आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

प्रतिकृया