• 9:03 am

एसियाली पारामा पदक जितेकी तेक्‍वान्दो खेलाडी पलेशालाई एनसेलको १ लाख नगद पुरस्कार

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ११:१९

कात्तिक १६, २०८० काठमाडौँ: हालै सम्पन्न चौथो एसियाली पारा खेलकुद २०२२ मा नेपाललाई पदक दिलाउन सफल तेक्‍वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनसेल आजियाटाले सम्मान गरेको छ। पलेशाको ऐतिहासिक जितको सम्मान गर्दै एनसेलले उनलाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।


पलेशाले चीनको हाङझावमा आयोजना भएको एसियाली पारा खेलकुदमा तेक्वान्दो खेलमा महिलातर्फ के–४४, ५७ केजी मुनिको क्याटगोरीमा इतिहास रच्दै कास्य पदक जितेकी थिइन्।


यसबाहेक एनसेलले राष्ट्रिय पारालिम्पिक समिति (एनपीसी) नेपालसँग नेपाली पारा खेलाडीहरूको समग्र तालिम र विकासका लागि ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सहकार्य र सहयोग प्रदान गर्दै आएको छ।


‘पलेशाको यो ऐतिहासिक उपलब्धिबाट हामी हर्षित छौं। यो जित नेपालका पारा–एथ्लेटहरूको उत्कृष्ट प्रदर्शनको नतिजा हो। पलेशा र अन्य सबै पारा खेलाडीहरूले हामी सबैलाई प्रेरित गरेका छ र पारा टोलीलाई हाम्रो समर्थन जारी राख्न पाउनु सम्मानको कुरा हो। एनपीसीसँगको हाम्रो सहकार्यले पलेशा जस्ता पारा खेलाडीहरूलाई प्रेरणा प्रदान गर्ने उद्देश्य राखेको छ र हामी समावेशीतालाई सदा कदर गर्दै यसका लागि प्रतिबद्ध छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने।


यस्तै, एसियाली पारा खेलकुदबाट पहिलो पटक देशको लागि पदक जितेर देशको लागि ल्याउन पाएकोमा आफू गौरवान्वित भएको तेक्वान्दो खेलाडी गोवर्धनले प्रतिक्रिया दिइन्।


‘हामी जस्ता पारा खेलाडीहरुको विकास र प्रशिक्षणको लागि एनसेलले गरेको सहयोगको लागि म हामी सबै पारा खेलाडीहरुको तर्फबाट धेरै–धेरै धन्यवाद दिन चाहन्छु। एनसेल र एनपीसीको यो सहकार्य दीर्घकालीन रहोस् भन्ने कामना गर्दछु। पारा खेलाडीहरुको विकासका लागि भएको यो सहकार्यले आगामी दिनमा अझ धेरै पारा खेलाडीहरु लाभान्वित हुने र देशका लागि थप अन्तर्राष्टिय सफलता दिलाउने विश्वास लिएको छु,’ उनले भनिन्।


पलेशाले चीनकी लिटिङ याङलाई सेमिफाइनलमा पराजित गर्दै कास्य पदक जितेकी थिइन्।


यो वर्ष एसियाली पारा खेलकुदमा एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, तेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस गरि विभिन्न १० खेलका विधामा नेपालका १९ जना पारा खेलाडीहरुले भाग लिएका थिए।


एनसेलले गत भदौ ३१ गते आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सवको अवसरमा आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनपीसीसँग सहकार्यको घोषणा गरेको थियो।

प्रतिकृया