• १२:५९ २०८० फाल्गुन ११ गते
  • 12:59 pm

दीपेन्द्रले विश्वकप छनोट गुमाउने सम्भावना

प्रकाशित मिति

२०८० कार्तिक १३ गते, सोमबार ०५:०९

dipendra1

कात्तिक १३, २०८० काठमाडौँ: टि-२० विश्वकपमा पुग्नुअघि नेपाली क्रिकेट टीमलाई ठूलो धक्का परेको छ । टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले जारी टि-२० विश्वकप एसिया छनोटको सबै खेल गुमाउने सम्भावना उच्च बनेको छ । दीपेन्द्र सोमबार बिहान सिंगापुरविरुद्ध खेल्नुअघि अभ्यासको क्रममा घाईते भएका थिए ।


बायाँ खुट्टाको एंकलमा चोट लागेपछि उनले सिंगापुरविरुद्धको पहिलो खेल गुमाएका थिए । उनी मैदानमा उत्रन असमर्थ भएपछि नेपालले उनको स्थानमा स्थानमा विवेक यादवलाई खेलाएको थियो ।


प्रतियोगिताको अवधि एक हप्ता ( कार्तिक १३ देखी १९ सम्म) मात्रै भएकाले दीपेन्द्रले पूरा प्रतियोगिता गुमाउने उच्च सम्भावना छ ।दीपेन्द्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रका अनुभबी खेलाडि हुन् । दीपेन्द्रले नेपालको लागि ५२ टि-२० आई खेलेका छन् । जसमा उनले १ शतक र ७ अर्धशतकसहित कुल १ हजार ३ सय ४४ रन बनाएका छन् । साथै उनले २५ विकेट पनि लिएका छन् ।


टोलीका प्रमुख अफ स्पिनर समेत रहेका दीपेन्द्रले नेपालबाट पाँचौं नम्बरमा खेल्दै फिनिसरको भूमिका निर्वाह गर्थे। उनी नहुँदा नेपाललाई ठूलो झड्का लाग्ने देखिन्छ । त्रिकोणात्मक टि-२० आई सिरिजमा उनले उच्च प्रदर्शन गरेका थिए । यस्तै, एसियन खेलकुदमा उनले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरी विश्व रेकर्ड बनाएका थिए ।


नेपालले आज भएको पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले हराएको थियो । अब नेपालले दोस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ ।

प्रतिकृया