• २१ असोज २०८३, बुधबार
  • ८ः५१ बिहान

सामुदायिक वनमा ‘टाइगर हिल पार्क’ निर्माण

प्रकाशित मिति

२०८० कार्तिक ९ गते, बिहीबार ०७:११

कात्तिक ९, २०८०, दमौली: तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो ।

National Life

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित पार्क निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिनुभयो । पृथ्वी राजमार्गबाट दुई सय मिटर दूरीमा अवस्थित उक्त पार्कमा बाघको मूर्ति पनि निर्माण गरिएको छ ।

राजमार्गबाट उत्तरतर्फ रहेको सो पार्कमा पुग्न गाउँपालिकाको सहयोगमा सिँढीे निर्माण गरिएको छ । पर्यटकीय पार्क बनाउन सकिने यहाँ रक क्लाइम्विङ, इको पदयात्रा, रक गार्डेनिङ, भ्युटावर, वर्ड वाचिङ हाइकिङसमेतको व्यवस्था गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष खनालले भन्नुभयो, “यहाँ मनोरम ढुङ्गाका आकृति, बेलको रुखमा ग्लास हाउस, मानिसलाई विश्रामका लागि गोल घरपाटी छ । यस ठाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रचारप्रसारमा ध्यान दिएका छौँ ।”

नयाँ नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यो पार्क निर्माण गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका विभिन्न ठाउँमा हरित उद्यान बनाउने कार्यालयको वार्षिक कार्यक्रमअनुसार यहाँ बाघको मूर्तिसहितको उद्यान निर्माण गरिएको हो ।”

उक्त कार्यालयको रु पाँच लाख र वाराही सामुदायिक वनको रु एक लाख २५ हजार गरी रु छ लाख २५ हजारमा उद्यान निर्माण गरिएको हो । यहाँ मिनी चिडियाखाना र वनभोजस्थल पनि बनाउने लक्ष्य छ ।

उक्त कार्यालयले जिल्लाका विभिन्न ठाउँमा हरित पार्क निर्माणलाई प्राथमिकता दिएको छ । कार्यालयको सहयोगमा भिमाद नगरपालिका–९ मोहोरिया र व्यास नगरपालिका–४ सिमलटारमा हरित पार्क निर्माण गरिएको छ । वडानं २ स्थित ज्यानटाङ सामुदायिक वनमा रुखमाथि घरसहितको पार्क बनाइएको छ ।

पार्कलाई हरियाली बनाउन डिभिजन वन कार्यालयको सहयोगमा वृक्षरोपण र सरसफाइ गरिएको छ । उक्त पार्क वरिपरि बहुवर्षीय पारिजात, म्याङ्गोस्टिक, कपुर र धुपीका करिब दुई सय बिरुवा रोपिएको छ ।

प्रतिकृया