• २१ असोज २०८३, बुधबार
  • ८ः०८ बिहान

यसकारण जमरा राख्दैनन् माझी समुदाय

प्रकाशित मिति

२०८० आश्विन २८ गते, आईतवार ०४:५२

असोज २८, २०८० काठमाडौँ: नेपालीहरूको महान् चाड बडादसैंको पहिलो दिन आज घटस्थापना। बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ। जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ। घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ।

National Life

अनिष्टको डरले बागलुङमा रहेको सीमान्तकृत माझी समुदायले भने जमरा नराखी नै दसैँ मनाउँदै आएका छन्।


देवीलाई जौँको जमरा मन पर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाका खनियाबासका माझी समुदायले भने जमराबिनै दसैँ मनाउँदै आएका छन्। उनीहरूले घरमा जमरा नराखेको वर्षौँ भएको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

जमरा राख्दा अनिष्ट हुने भन्दै पुस्तौँदेखि घटस्थापनामा जमरा नराख्ने गरेको माझी समुदायका स्थानीय देउकुमारी माझीले बताइन्।


‘जमरा राख्दा अनिष्ट भएपछि राख्न छाडिएको हो भन्ने गर्छन् पाका पुरानाहरू,’ माझीले भनिन्, ‘घटस्थापनाको दिन जमरा छर्ने क्रममा कन्याहरूको मृत्यु भएको र त्यसपछि जमरा नराखी दसैँ मनाउन थालिएको भन्ने सुनिन्छ, अहिले दसैँको दिन कालिका मन्दिरमा छरेका जमरा लिएर टीकासँगै लगाइन्छ।’


माझीका अनुसार दसैँको दिन टीका, जमरा त लगाउँछन् तर जमरा भने मागेर वा मन्दिरमा पुगेर ल्याउने चलन छ। घरमा जमारा राखेपछि अनिष्ट हुने विश्वासले यहाँका १७ माझी परिवारले घरमा जमरा नराख्ने गरेको पाइन्छ। यसलाई माझी समुदायले आफ्नो परम्पराको रूपमा लिँदै आएका छन्।


तीन पुस्ताअघिसम्म जमरा राखे पनि त्यसपछि ठूलै अनिष्ट घटना भएपछि जमरा राख्न छाडिएको सोमबहादुर माझीले बताइन्। खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराख्ने चलन अहिले परम्पराका रुपमा स्थापित भइसकेको छ।


‘जुन वर्ष जमरा राख्यो, त्यो वर्ष घरकी कन्याको मृत्यु भएको भन्ने छ, जमरा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाह गरेर राख्न छाडिएको सुनिन्छ,’ सोमबहादुरले भने।


दसैं मनाउने भए पनि जमरा नराख्ने माझी समुदायको प्रचलनलाई अनौठो प्रचलनका रुपमा अन्य समुदायले लिँदै आएका छन्। माझीहरूले दसैँमा जमरा लगाउन हुने भए पनि जमरा राख्न नहुने मान्यता स्थापित भइसकेको छ।


पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मारेर, डुङ्गा खियाएर र बालुवा निकालेर गर्जो टार्दै आएका बागलुङ–१ रामरेखाका माझी समुदायले अहिले भने आफ्नो पेसा सङ्कटमा परेको बताउँछन्। दुई वर्षदेखि नदीबाट बालुवा निकाल्न नपाएको बताउँदै रोजीरोटीका लागिसमेत समस्या भएको दुःखेसो उनीहरूको छ।


न्यून आयस्तर भएका सीमान्तकृत माझी समुदाय आश्रित भएको कालीगण्डकी नदीमा बालुवा निकाल्न नपाएपछि उनीहरू अन्य समुदायको घरमा पुगेर ज्याला मजदुरी गर्न बाध्य भएका छन्।

प्रतिकृया