• २१ असोज २०८३, बुधबार
  • ८ः२४ बिहान

प्राधिकरणले चाडपर्वलाई लक्षित गर्दै थाल्यो प्रणाली सुधार, दशैं तिहारमा बत्ती नजाने

प्रकाशित मिति

२०८० आश्विन २८ गते, आईतवार ०४:३६

असोज २८, २०८० काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले चाडपर्वलक्षित प्रणाली सुधारको काम अघि बढाएको छ । पछिल्लो समय लगातार बढिरहेको लाइन ट्रिपिङको समस्यालाई न्यूनीकरण गर्न प्राधिकरणले प्रणाली सुधार सुरु गरेको हो । खासगरी दशैं र तिहारताका सबैभन्दा बढी बिजुलीको माग हुने भएकाले यसै बेलामा ट्रान्सफर्मरमा ओभरलोड हुने, पड्किने, लाइन जल्ने, शर्ट हुनेलगायतका समस्याहरु बढी नै देखिन्छ । त्यसमाथि अहिले हिटर, इन्डक्सन चुलोलगायतको बढ्दो प्रयोगले पनि विद्युत प्रणालीमा अत्याधिक समस्या आउने गरेको छ । जसको दोष नेपाल विद्युत प्राधिकरणलाई आउने गरेको छ ।

National Life

यस्तोमा प्राधिकरणले समस्याहरुको निरुपण गर्नकै लागि पहिलो चरणमा तार मर्मतको काम अघि बढाएको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई बताउँछन् । हुन त यसअघि करिव ३ बर्ष अघि नै वितरण प्रणालीमा व्यापार सुधार गर्ने भन्दै प्राधिकरणले नयाँ सबस्टेसन निर्माण, सञ्चालनमा रहेका सबस्टेसनलाई स्वचालित बनाउने, विद्युतीय तारलाई भूमिगत बनाउने, नयाँ फिडर तथा ट्रान्सफर्मर थप्ने तथा सुदृढीकरण गर्ने प्रतिबद्धतासहितको कार्ययोजना अघि सारेको थियो ।

जसमध्ये हाल नयाँ सबस्टेशन थप्ने काम सुरु गर्न लागिएको छ भने विद्युत तार भूमिगत गर्ने कार्य काठमाडौंमा करिव अन्तिम चरणमा पुग्न लागेको छ । दिर्घकालिन कार्ययोजना विस्तारै अघि बढ्दै गरेपनि तत्कालका लागि बढेको बिजुलीको मागका कारण निम्तिने समस्या न्यूनीकरण गर्न प्राधिकरण लागेको हो । यसैका लागि भन्दै प्राधिकरणले काठमाडौं वरपर जडान गरिएका ट्रान्समिसन लाइनको चेकजाँच र स्तरोन्नति, काठमाडौंभित्रका सबस्टेशनको सुधार, पुराना पार्टपुर्जा परिवर्तन, ओभरलोड हुने स्थानमा ट्रान्सफर्मर थपलगायतका कम अघि बढाएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसले काठमाडौं उपत्यकाभित्र दशैं र तिहारको बेलामा लोड अनुसारको लाइन ट्रिपिङको समस्या न्यूनीकरण हुने प्रवक्ता भटट्राई बताउँछन् । ‘पछिल्लो समय काठमाडौं उपत्यकामा विजुलीको माग बढेको छ, अझ दशैं तिहारमा धेरै बत्ती बाल्ने इन्डक्सन चलाउने गर्दा लोड धेरै पर्छ,’ उनले भने, ‘यसरी लोड बढेपछि यसै पनि लाइन ट्रिपिङको समस्या बढ्छ, यस्तो समस्या हटाउन हामीले तत्कालका लागि केहि सुधारका काम गरिरहेका छौं ।’

प्राधिकरणले यसपल्टको तिहारमा विजुलीको माग २ हजार मेगावाट माथि पुग्ने अनुमान गरेको छ । यसैका कारण पनि प्राधिकरणले प्रणाली सुधारका लागि तत्काल काम अघि बढाउनुपरेको प्राधिकरणका एक कर्मचारीले बताए । हाल नेपालको राष्ट्रिय प्रणालीमा विद्युतको पिक डिमान्ड १७ सय आसपास छ । अन्तरराष्ट्रिय बजारलाई पनि जोड्दा प्रणालीमा पिक डिमाण्ड २२ सयमाथि मेगावाट पुग्ने गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिकृया