• 1:36 pm

एमाले कोशी अधिवेशनबाट अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

प्रकाशित मिति

२०८० आश्विन १६ गते, मंगलवार ११:०६

असोज १६, २०८० मोरङ : नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्। उनले विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा ९७७ मत खसेकोमध्ये खतिवडाले कुल ५१२ मत हासिल गरेका हुन्। ढकालले ४३० मत प्राप्त गरे।


निर्वाचनमा प्रदेश कमिटी उपाध्यक्षमा एकल उम्मेदवारीमा रहेका धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध चयन भए । सचिवतर्फ पाँचथरका राजकुमार भण्डारी ५२४ मतसहित विजयी भए। उनी खतिवडातर्फबाट प्रतिस्पर्धामा थिए । उनको प्रतिस्पर्धीमा उदयपुरका शैलेश लामा ३८१ मतमा रहे ।


कमिटीको दुई उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन् । उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मतमा सीमित भए। नेपाली यसअघि राष्ट्रियसभा सदस्य थिए ।


प्रथम अधिवेशनमा प्यानलसहित खतिवडा र ढकाल निर्वाचनमा होमिएका थिए। जसमा निर्वाचित पदाधिकारी सबै खतिवडा समूहका हुन् । अधिवेशनमा ९९७ जना प्रतिनिधिमध्ये ९७७ जनाले मतदान गरेका थिए । २१५ सदस्यीय प्रदेश कमिटीमा १४२ पदका लागि निर्वाचन भएको थियो, जसमा ७३ जना निर्विरोध भएका थिए ।


निर्वाचनमा ३१८ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन कमिटीले जनाएको छ ।

प्रतिकृया