हेटौँडा अस्पतालका ७९ डाक्टरले बुझाए रामूहिक राजीनामा
प्रकाशित मिति
२०८० भाद्र २९ गते, शुक्रबार ११:५९
भदौ २९, २०८० काठमाडौँ: हेटौँडा अस्पतालमा कार्यरत ७९ डाक्टरहरुले सामूहिक राजीनामा बुझाएका छन् । अस्पतालको विभिन्न विभागमा कार्यरत विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा बुझाएका हुन् । उनीहरुले सामूहिक राजीनामा पत्र तयार पारेर आफूलाई बुझाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटाले लोकपथलाई जानकारी दिए । केही दिनअघि सो अस्पतालमा कार्यरत डाक्टरहरुमाथि बिरामीका आफन्तहरुले कुुटपीट गरेपछि उनीहरुको कारबाहीको मागसहित राजीनामा बुझाएका हुन् ।
‘उहाँहरुले सामूहिक राजीनामा बुुझाउनुभएको छ ।’ उनले भने, ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा डाक्टरहरुले सामूहिक राजीनामा दिने कुरा गम्भीर कुरा हो । डाक्टरहरुमाथि कुटपीट गर्नेहरुको कारबाहीको विषयमा हामी छलफलमा छाँै ।’
एक महिनाअघि डेङ्गी भएका हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापर्बाहीको कारण मृत्युु भएको भन्दै उनका आफन्तहरुले अस्पतालमा कार्यरत २ डाक्टरमाथि कुटपीट गरेका थिए । डाक्टरहरुमाथि कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित र भतिजा अनुपलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
अस्पतालका अनुसार डेङ्गी पुष्टि भएका प्रधानको केही दिनपछि चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि हिजो बुधवार बिहान कुटपिट भएको थियो ।
उनीहरुलाई पक्राउ गरी म्याद थपका लागि अदालतमा उपस्थित गराइएको मेसु सापकोटाले जानकारी दिए ।
प्रतिकृया