नेप्से दोहोरो अंक बढ्यो, हाइड्रोपावरबाहेक सबै उपसूचकमा हरियाली

प्रकाशित मिति

२०८० भाद्र २४ गते, आईतवार ०४:३६

shareup

भदौ २४, २०८० काठमाडौँ : केही दिनदेखि घटेको नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतवार १० दशमलव २३ अंक बढेको छ । नेप्से परिसूचक १ हजार ९४२ दशमलव ६८ विन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ५३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६६ प्रतिशत वृद्धि भएको छ । केही दिनदेखि घटेको बजारमा आइतवार क्रेता सक्रिय भएसँगै परिसूचक सामान्य अंक बढेको हो ।


अर्थ मन्त्रालयले स्थानीय तहको सञ्चित कोषमा रहेको रकम मध्येबाट ६० प्रतिशत रकम निक्षेपका रूपमा गणना गर्न पाउने सुविधा दिएको छ । यस प्रावधानबाट झन्डै ६० अर्ब रुपैयाँ निक्षेप थपिने देखिएको छ । यसले ब्याजदर घटाउने सहयोग पुग्ने भएको हो । ब्याजदर घट्यो भने त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिने जानकारहरू बताउँछन् ।


नीतिगत अवरोध र चर्को ब्याजदरका कारणले शेयर बजार प्रभावित भएको लगानीकर्ता बताउँछन् । ब्याजदर घटे र केही नीतिगत अवरोधलाई समाधान गर्न सकेमा शेयर बजारले नयाँ विन्दु कायम गर्न सक्ने उनीहरूको भनाइ छ । आइतवार कारोबारमा आएका २७६ धितोपत्रको ४३ लाख १४ हजार ४१७ कित्ता शेयर ३३ हजार ६४ पटकमा रू. १ अर्ब ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।


कारोबारमा आएका धितोपत्रमध्ये सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ६६० पुगेको हो । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा शुभम पावर कम्पनी छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत बढेर रू. ७६० पुगेको छ । आइतवार सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ७ दशमलव ८१ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ११८ मा झरेको छ ।


सर्वाधिक शेयर खरीदविक्री पनि यस कम्पनीको भएको हो । कम्पनीको रू. ८ करोड ५६ लाख बराबरको भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा माछापुच्छ्रे बैंक छ । कम्पनीको रू. ४ करोड २५ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये हाइड्रोपावर समूहको शून्य दशमलव १४ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको हो । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी व्यापार समूहको परिसूचक १ दशमलव ६७ प्रतिशत बढेको छ ।

प्रतिकृया