• ३ साउन २०८३, आइतबार
  • ९:२३ बिहान

पर्यटकीय गन्तव्य बन्दै मायाटार

प्रकाशित मिति

२०८० भाद्र २३ गते, शनिबार ०४:४४

भदौ २३, २०८० मुग्लिन (चितवन): चितवनको पहाडी भूगोलमा पर्ने इच्छाकामाना गाउँपालिकामा थुप्रै पर्यकटीयस्थल छन् । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यहाँका पर्यटकीयस्थल ओझेलमा पर्दै आएका छन् ।


पछिल्लोे समय फिस्लिङ–शक्तिखोर सडक स्तरोन्नति भएसँगै इच्छाकामना गाउँपालिकाको माथिल्लो विकट भेगमा पनि पर्यटक बढ्न थालेको छ । वडा नं २ मायाटार गाउँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको स्थानीय बताउँछन् ।

Kamana Sewa

शक्तिखोरबाट उपरदाङगढी हुँदै फिस्लिङ जोड्ने सडकको मध्यभागमा पर्ने मायाटार गाउँमा गुरुङ र चेपाङ जातिको बाक्लो बसोबास छ । यो गाउँ चितवनको पुरानो सदरमुकाम ऐतिहासिक उपरदाङगढीबाट आठ किलोमिटरको दूरीमा पर्दछ ।

Classic Tech Desktop

गर्मी मौसममा आन्तरिक पर्यटक बढी पुग्ने गरेका घरबास (होमस्टे) सञ्चालकसमेत रहनुभएका स्थानीय टीका गुरुङले बताउनुभयो । “जिल्लाको तराई भेग र इच्छकामनाको तल्लो भेगमा गर्मी हुँदा मायाटारमा भने सिरक ओढेर सुत्नुपर्ने अवस्था हुन्छ”, उहाँले भन्नुभयो, “गर्मी छल्न अन्य मौसममा भन्दा बढी आन्तरिक पर्यटक यहाँ पुग्ने गर्छन् ।” यहाँ दैनिक आन्तरिक पर्यटक आएर बास बस्ने गरेको उहाँको भनाइ थियो ।


गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकको आवागमन बढेसँगै यहाँका गाउँलाई होमस्टेका रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो । विशेष गरेर मायाटारसहित नजिक रहेका गुरुङ बस्ती, घुर्केस र डाँडागाउँमा होमस्टे सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।


“यहाँ आउने पर्यटकलाई गुरुङ र चेपाङ समुदायको सांस्कृतिक झाँकीबाट मनोरञ्जन प्रदान गर्नका लागि होमस्टे सञ्चालन गर्ने योजना बनाएका छौँ । मायाटार नजिकै घुर्केस, डाँडागाउँलगायत रमणीय गुरुङ बस्ती छन्”, अध्यक्ष गुरुङले भन्नुभयो, “गुरुङ र चेपाङ समुदायको कला संस्कृतिबाट यहाँ आउने पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्न सकिन्छ ।”


होमस्टे सञ्चालनका लागि स्थानीयलाई तालिमका साथै आर्थिक सहयोग गर्ने गाउँपालिकाको योजना रहेको उहाँले बताउनुभयो । होमस्टे सञ्चालनमार्फत स्थानीयको आयस्तरमा वृद्धि हुने उहाँको भनाइ थियो ।

प्रतिकृया