कानुन निर्माण कार्यलाई प्राथमिकतासाथ अगाडि बढाइँदै छ : प्रधानमन्त्री
प्रकाशित मिति
२०८० भाद्र १८ गते, सोमबार ०२:५९
भदौ १८, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानबमोजिम बनाउन बाँकी रहेका कानुन निर्माणकार्यलाई सरकारले प्राथमिकतासाथ अगाडि बढाइरहेको बताएका छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा गरिएका प्रश्नको जवाफ दिँदै उनले सरकारले संविधान कार्यान्वयन कार्ययोजना बनाई कानुन निर्माणकार्यलाई प्राथमिकताका साथ अघि बढाउँदै लगेको बताएका हुन् ।
नेपालको संविधान जारी भएपश्चात् हालसम्म नयाँ र संशोधन समेत गरेर १९१ ऐन निर्माण गरिएको उनले जानकारी गराए । सरकारले संघीय संसद्मा पेस गरेका विभिन्न १५ विधेयक संसदीय प्रक्रियामा रहेको उनले उल्लेख गरे ।
उनले प्रहरी प्रशासनसम्बन्धी कानुनलाई संघीयताअनुकूल बनाउनका लागि सरकारले गृहकार्य गरिरहेको बताए । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी विधिको शासन कायम गर्न आवश्यक पर्ने कानुनी संरचना निर्माणमा सरकार क्रियाशील रहेको उनको भनाइ छ ।







प्रतिकृया