पेप्सीकोलामा दुर्घटना, एकको मृत्यु, पाँच जना घाइते
प्रकाशित मिति
२०८० भाद्र १७ गते, आईतवार १०:२८
भदौ १७, २०८० काठमाडौँ: काठमाडौं महानगरपालिका-३२ स्थित पेप्सीकोलामा बसले एकसाथ तीनवटा सवारीलाई ठक्कर दिएकाे छ । आइतबार बिहान करिब साढे ७ बजेतिर जडिबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले बा ६ च ५३४२ नम्बरको बाेलेरो गाडी, बा.प्र.०२-०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बा.प्र.०२-०४१ प ४८३८ नम्बरको एफ-जेट मोटरसाइकललाई ठक्कर दिएकाे हाे ।
दुर्घटनामा परी घाइते भएका बा. प्र ०२-०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालक वर्ष २७/२८ का पुरुष व्यक्तिको मृत्यु भएको छ। उनको सनाखत हुन बाँकी नै छ । प्रहरीका अनुसार दुर्घटनामा पाँचजना घाइते भएका छन्। जसमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
घाइतेहरूकाे मीनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेकाे छ । बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटना आज बिहान साढे ७ बजेतिर भएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिकृया