सप्तकोशीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो
प्रकाशित मिति
२०८० श्रावण २९ गते, सोमबार १०:४३
२९ श्रावण २०८०, काठमाडौँ: कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको छ । पानीको बहाव निकै बढेपछि गएराति देखि ५६ वटै ढोका खोलिएको प्रशासनले जनाएको छ । पूर्वी पहाडी जिल्लाहरूमा केही दिनयता निरन्तर पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव ११ वर्ष यताकै उच्च पुगेको छ ।
आज बिहान ४ बजे कोसी ब्यारेज कन्ट्रोल रुमले ४ लाख ६२ हजार ३ सय ४५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरेको कन्ट्रोल रुमले जनाएको छ । यस्तै बिहान ६ बजे भने बहाव केही कम भएर ४ लाख ५२ हजार ७ सय १० क्युसेक प्रति सेकेन्ड रहेको कन्ट्रोल रुमका कर्मचारी अमित यादवले बताए । यादबका अनुसार ११ वर्षकै कोशीमा पानीको उच्च बहाव मापन गरिएको छ । अहिले व्यारेजमा आवतजावत बन्द गरिएको छ ।
पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च भएको छ । कोशीमा पानीको बहाव उच्च भए पनि कोसीले पूर्वी तटबन्धमा कुनै क्षति गरेको छैन । राजावा, प्रकाशपुर, मधुवनलगायत पूर्वी तटबन्धमा खतरा नरहेको बताइएको छ ।
प्रतिकृया