एकिकरण नेपाल गोरखाले विद्यालय निर्माण गर्ने
प्रकाशित मिति
२०८० श्रावण १४ गते, आईतवार ०४:०९
१४ श्रावण २०८०, काठमाडौँ: जापान सरकार परराष्ट्र मन्त्रालय (मोफा) को आर्थिक सहयोग तथा चाइल्ड फण्ड जापानको प्राविधिक सहयोगमा एकिकरण नेपाल गोरखाले शहिद लखन गाउँपालिका वडा न ८ बुँकोट, गोरखाको श्री रामेश्वरी माध्यमिक विद्यालय चार कोठे भवन वनाउने भएको छ । २०८० साउन १२ गते विद्यालयमा भएको एक कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगर र चाइल्ड फण्ड जापानका कार्यक्रम व्यवस्थापक आयरी होण्डाले संयुक्त रुपमा भवन शिलान्यास गर्नुभयो ।
सोही अवसरमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष थापाले भवन निर्माण लगायत ४ वटा विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि परियोजनाबाट गरिने गतिविधिहरुमा गाउँपालिकाको तर्फबाट सधैं सहयोग, समन्वय र सहकार्य हुने प्रतिबद्धता व्यक्त गर्दे सहयोग उपलव्ध गराएकोमा जापान सरकार र संलग्न निकायहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

चाइल्ड फण्ड जापानका कार्यक्रम व्यवस्थापक आयरी होण्डाले जापान सरकार र नेपाल सरकारबीच लामो समय देखि अत्यन्तै घनिष्ठ सम्वन्ध रहेको जानकारी गराउदै सभ्य समाज निर्माणका लागि शिक्षा एक महत्वपूर्ण क्षेत्र रहेको र नेपाली वालवालिकाहरुको गुणस्तरीय शिक्षाका लागि सहयोग गर्नु जापान सरकारको पनि कर्तव्य भएको जानकारी दिइन् । कार्यक्रममा वोल्दै उनले यो केवल जापान सरकारको पैसा मात्रै नभएर माया, प्रेम र सद्भाव पनि भएको जानकारी गरिन् ।

एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले श्री रामेश्वरी माध्यमिक विद्यालयको ४ कोठाको विद्यालय भवन, खानेपानी सरचना निर्माण, कक्षा कोठा तथा फर्निचरको व्यवस्थापन लगायतका काम सगै अन्य ३ वटा विद्यालयहरु शहिद स्मृति माध्यमिक विद्यालय, चण्डिका आधारभूत विद्यालय र राम्चे आधारभूत विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको क्षमता विकास तथा विद्यालयहरुमा विपद् जोखिम न्यूनिकरण सम्बन्धी गतिविधिहरु सञ्चालन हुने बारे जानकारी गराएका थिए ।
परियोजनाको उदेश्य, अवधि, अपेक्षित उपलब्धीहरु, गतिविधिहरु र बजेटको वारेमा एकिकरण नेपालका परियोजना सयोजक ईश्वर घिमिरेले जानकारी दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर रम्तेलको अध्यक्षतामा अभिभावकहरु, स्थानिय समाजसेवीहरु, कार्यक्रम सञ्चालित विद्यालयहरुका बाल क्लवका पदाधिकारीहरु तथा विद्यार्थीहरु गरी ४२० जनाको सहभागितामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुवास आचार्य, वडा नं ८ का अध्यक्ष बासुदेव ढकाल लगायतले मन्तव्य दिएका थिए ।





प्रतिकृया