• १० असोज २०८३, शनिबार
  • ३ः१२ दिउँसो

पशु माथि को क्रूरता र पशुहरूको कल्याण : डा. केदार कार्की

प्रकाशित मिति

२०८० असार १५ गते, शुक्रबार ०९:४४

१५ असार २०८०, काठमाडौँ : जैविक विविधताले सम्पन्न मुलुक नेपालका घर पालुवा होस वा जङ्गली स्थलचर तथा जलचर पशुपन्छीको संरक्षण, सम्बर्धन, प्रवर्धन गर्र्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गरी सदुपयोग गर्न सकेमा मानिस, पशुपन्छी तथा वातावरणीय स्वास्थ्य संरक्षण हुनका साथै आर्थिक सामाजिक रुपान्तरणमा टेवा पुग्न सक्ने कुरा निर्विवाध छ ।

National Life

कुरा जैविक विविधताले सम्पन्न मुलुक नेपालका घर पालुवा होस् वा जङ्गली स्थलचर तथा जलचर पशुपन्छीको संरक्षण, सम्बर्धन, प्रवर्धन गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गरी सदुपयोग गर्न सकेमा मानिस, पशुपन्छी तथा वातावरणीय स्वास्थ्य संरक्षण हुनका साथै आर्थिक सामाजिक रुपान्तरणमा टेवा पुग्न सक्ने कुरा निर्विवाध छ । थुप्रै मानिस पशुमाथिको क्रूरतालाई लिएर चिन्तित छन, तर उनीहरू हामी हाम्रा सहचारी पशुहरू, विशेषगरी बिराला र कुकुरलाई कसरी व्यवहार गर्छौं भन्ने कुरामा केन्द्रित छन, जसको संख्या विश्वव्यापी रूपमा करिब ८४ करोडजति छ ।


कारखानाजस्ता फार्ममा मासुका लागि दयनीय अवस्थामा हुर्काइएका लगभग दुई खर्ब मेरुदण्डयुक्त पशुहरूको संख्यासामु यो संख्या निकै सानो लाग्छ । खानका लागि सघन रूपमा पालिने पशुहरूको कल्याणले मानव नियन्त्रणअन्तर्गत रहेका पशुहरूको जीवन र मृत्युको वस्तुनिष्ठ मूल्यांकनमा हामी हाम्रा पशुपक्षीसँग कसरी व्यवहार गर्छौं भन्ने कुराको महत्व उजागर गर्छ । बन्द खोर वा फार्ममा पालिने यी जनावरमध्ये करिब एक खर्ब २४ अर्बचाहिँ माछा (जलचर) छन् । हाम्रासामु अहिले माछाले दुःखपीडा महसुस गर्न सक्छ भन्ने कुराको बलियो प्रमाण उपलब्ध छ । त्यसैले उनीहरूको पीडालाई बेवास्ता गर्नुको औचित्य छैन । एक खर्ब २४ अर्ब माछाकै पीडाको परिकल्पना गर्न गाह्रो हुन सक्छ, सघन पालन (खेती)का कारण दुःख भोग्ने माछाहरूको कुल संख्या योभन्दा अझ बढी छ । प्रत्येक वर्ष समुद्रबाट अनुमानित चार खर्ब ६० अर्बदेखि ११ खर्ब माछाहरू निस्किन्छन् । तीमध्ये केहीलाई मांसाहारी माछाहरूको भोजन बनाइन्छ । केही मानवभोजन बन्छन् । खानका लागि पालिने एउटा सामान्य साल्मोन माछाले आफू मारिनुअघि एक सय ४७ वटा माछाको आहार गरेको हुन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

माछापछि कुखुरा सबैभन्दा बढी खपत हुने मेरुदण्डयुक्त जीव हो । प्रत्येक वर्ष लगभग ७० अर्ब कुखुरा हुर्काइन्छन र मारिन्छन । सामान्यतयः एउटा ठूलो खोरमा एकपटकमा दुई लाख कुखुरा हुर्काइन्छन् । आजका कुखुरा यति छिटो हुर्किन्छन् कि तिनका खुट्टाको कलिला हड्डीले आफ्नो वजनसमेत धान्न सक्दैन, जसका कारण ती कुखुराले आफ्नो जीवनको अन्तिम पाँचौँ कालखण्डमा खुट्टामा असह्य पीडा अनुभव गर्छन् ।


त्यसैकारण, फार्ममा पालिने पशुको कल्याणका लागि सम्मानित विशेषज्ञका साथै पशु चिकित्सक ब्रिस्टल विश्वविद्यालयका इमेरिट्स प्रोफेसर जोन वेबस्टरले आधुनिक सघन पशुपालनलाई ‘मानिसको एउटा अर्को चेतनशील जीवप्रतिको चरम अमानवीयताको एक व्यवस्थित उदाहरणका रूपमा वर्णन गरेका छन ।


पशुपालनको थप सघनीकरण एवं उत्पादनमा वृद्धिका कारण मानिसले सन् १९७५ मा भन्दा आज जीवजन्तुलाई बढी दुःख दिइरहेको छ । यद्यपि, सन १९७५ यताका प्रवृत्ति सबै नकारात्मक मात्रै पनि छैनन । पशुहरूको पनि अधिकार हुनुपर्छ भन्ने दृष्टिकोणको व्यापक विस्तारदेखि खिल्ली उडाउनेसम्मका कुरा भएका छन । धेरै देशमा पशु कल्याणको सुरक्षा गर्नुलाई सरकारको महत्वपूर्ण जिम्मेवारीको रूपमा हेरिन थालेको छ ।


युरोपमा खानका लागि हुर्काइने र अनुसन्धानमा प्रयोग गरिने करोडौँ जीवजन्तुको पीडालाई सुधारहरूले कम गरेको छ । सन १९७५ मा अन्डा पार्ने लगभग सबैजसो कुखुरालाई राम्ररी पखेटा पनि फिँजाउन नमिल्ने जाली तारका खोरमा रखिन्थ्यो भने अहिले अन्डा पार्ने कुखुरालाई यसरी राख्नु युरोपियन युनियन र संयुक्त अधिराज्यसहितका २७ देशमा गैरकानुनी मानिन्छ । यी देशले प्रजननका लागि पालिने पोथी सुँगुर, गाई र भेडाहरूलाई चलमलाउन, एक कदमभन्दा बढी पछाडि फर्किन वा घुम्न नमिल्ने साँघुरा खोरमा राख्न पनि निषेध गरेका छन ।


दुःखको कुरा, यस मामलामा विश्वका अधिकांश अन्य भाग युरोपभन्दा पछाडि छन् । संयुक्त राज्य अमेरिका पनि यसैमा पर्छ, जहाँ फार्ममा पालिने जीवजन्तुलाई कसरी पाल्ने भन्ने संघीय कानुनकै अभाव छ । यसले गर्दा अमेरिकामा अर्बौं जीवजन्तु अहिले पनि ५० वर्षपहिलेकै स्थितिमा बाँचिरहेका छन् ।त्यसपछि चीन पनि छ ।


चीनले ५० वर्षपहिले तुलनात्मक रूपमा सघन खेती (पालन)बाट थोरै पशुपक्षी उत्पादन गथ्र्यो, तर अहिले सुँगुर उत्पादनमा ऊ विश्वको अग्रणी उत्पादक हो भने कुखुराको पनि ठूलो उत्पादक हो । उत्पादनलाई अझै बढाउन, चीनले अहिले २६ तल्ला र आठ लाख वर्गमिटरसम्मका विशाल गगनचुम्बी ‘फार्म’हरू निर्माण गरिरहेको छ, जुन फार्म सुँगुरले खचाखच भरिनेछन् ।


महात्मा गान्धी भन्थे– ‘कुनै पनि राष्ट्रको महान्ता र उसको नैतिक प्रगतिको आकलन त्यहाँका जीवजन्तुमाथि गरिने व्यवहारबाट गर्न सकिन्छ ।’ यस मापदण्डअनुसार, अहिलेसम्म विश्वमा साँचो अर्थमा महान् एवं नैतिक हिसाबले प्रगतिशील राष्ट्र छैनन् ।
सारांश पशु कल्याण सुनिश्चित गर्न यसको नीतिगत तथा कानूनी व्यवस्था, संगठनात्मक संरचना (घर गोठमा गुणस्तरीय पशु चिकित्सा सेवा विस्तार), साधन श्रोत विशेषज्ञ जनशक्ति, आर्थिक, लजिष्टिक, भौतिक संरचना भेटेरिनरी अस्पताल, प्रयोगशाला, फार्म, सरोकारवालाको चेतना आदिका साथै राज्यको इच्छा शक्तिको आवश्यकता पर्दछ । यदि इच्छाशक्ति छ भने उपलव्ध सिमित साधन श्रोतको प्रयोग गरेर पनि पशुप्रति हुने निर्दयी व्यवहारमा न्यूनीकरण गर्दै पशु कल्याण सुनिश्चित गर्न र अन्ततोगत्या हाम्रो विकास र समृद्धिमा ठोस योगदान हुन सक्दछ ।


पशुपन्छी स्वस्थ नरहेसम्म मानिस तथा वातावरण स्वस्थ रहन सक्दैन । पशुपन्छी स्वस्थ रहन पशु कल्याण सम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन आवश्यक पर्दछ । नेपालमा प्रचलित कानूनमा यत्रतत्र छिटफुट रुपमा गरिएका पशुपन्छी सम्बन्धी कानूनी व्यवस्था नाम मात्रको र प्रभावहिन देखिएको छ ।

प्रतिकृया