जनार्दन शर्माकाे नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नभएकाे भनाइ
प्रकाशित मिति
२०८० असार ६ गते, बुधबार ०४:३३
६ असार २०८०, काठमाडौँ: सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उपमहासचिव शर्माले अर्गानिक मल कारखानाको भने आवश्यकता रहेको औंल्याए । भएका स्रोत र साधनलाई परिचालन गरेर अर्गानिक मल कारखाना भने नेपालले बनाउन सक्ने उनको भनाइ थियो ।
उपमहासचिव शर्माले कृषिमा आधारित उद्योग स्थापनाका लागि संघीय सरकारले अध्ययन, अनुसन्धान र बजेटको व्यवस्था गर्ने, प्रदेश सरकारले प्रशोधन उद्योगहरु स्थापना गर्ने, कोल्डस्टोरहरु स्थापना गर्ने र स्थानीय सरकारले त्यसको उत्पादनमा जोड दिनुपर्ने आवश्यकतासमेत औंल्याए ।
उनले भने, ‘आज रासायनिक मल कारखानाको कुरा आइराखेको छ। नेपालमा रासायनिक मल कारखानाको आवश्यकता छैन । अर्गानिक मल कारखानाको आवश्यकता छ । हामीसँग भएका स्रोत, साधनहरुबाट, खनिजबाट हामी अर्गानिक मल कारखाना बनाउन सक्छौ। त्यतातर्फ सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’







प्रतिकृया