नेपाल व्यवसाय शिखर सम्मेलन आयोजना हुँदै
प्रकाशित मिति
२०८० बैशाख १५ गते, शुक्रबार ०५:०५

१५ वैशाख २०८०, काठमाडौँ: यही वैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्तरुपमा उक्त सम्मेलन आयोजना गर्न लागेका हुन् । ‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्र’ मूल विषयवस्तु रहेको उक्त सम्मेलन काठमाडौँमा आयोजना गर्न लागिएको हो ।
शुक्रबार आयोजित पत्रकार भेटघाटमा उक्त सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवम् बैंकिङ क्षेत्रका समस्या तथा त्यसको समाधानका उपायहरुमाथि विचार विमर्श हुने बताईएको छ । ‘हाल उद्योगी तथा व्यवसायीहरुको मनोबल निकै घटेको, विभिन्न कारणले मागमा सङ्कुचन आई उत्पादनमा असर परेको जस्ता समस्या समाधानका विषयमा सरोकारवाला व्यक्तिहरुको प्रस्तुति रहनेछ’, सिबिफिनका अध्यक्ष पवन गोल्यानले भने ।
त्यस्तै चालु आर्थिक वर्षमा सरकारले लिएको लक्ष्यअनुसारको राजस्व सङ्कलन नभएको, पूँजीगत खर्च अपेक्षित रुपमा हुन नसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशका कारण मूल्यवृद्धि बढिरहेको जस्ता कारणले समग्र अर्थतन्त्रमा नकारात्मक असर पारेको लगायत विषयमा पनि सम्मेलनमा छलफल हुने जनाइएको छ । आर्थिक एवम् बैंकिङ सुधार तथा आत्मनिर्भर अर्थतन्त्रको भावी कार्यदिशा तय गर्न सम्मेलनबाट प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार गरी सरकारलाई बुझाइनेछ ।
सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्नेछन्। सिबिफिन अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा हुने उक्त सम्मेलनमा अर्थमन्त्री डा. प्रकाशशरण महत, विश्व बैंक समूहको इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी)का एसिया प्यासिफिक क्षेत्रका उपाध्यक्षका सल्लाहकार कमर सलिम, वरिष्ठ उद्यमी तथा उद्योगी तथा सांसद विनोद चौधरी, वरिष्ठ अर्थशास्त्री तथा सांसद डा. स्वर्णिम वाग्ले, गभर्नर महाप्रसाद अधिकारी, उद्योग सचिव मधु कुमार मरासिनी, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्भोस, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माको सहभागिता रहनेछ।
त्यस्तै म्यानेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष उपेनद्र प्रसाद पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल, डोल्मा अर्गनाइजेसनका प्रबन्धनिर्देशक जोसेफ अल्भानसलगायत विभिन्न देशका राजदूतहरु, अर्थशास्त्रीहरु, उद्यमी व्यवसायीहरु, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरुले कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
दरबारमार्गमा रहेको होटल याक एन्ड यती सम्मेलनको समापन भने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
प्रतिकृया