• 12:32 am

नागार्जुन नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने

प्रकाशित मिति

२०८० बैशाख १४ गते, बिहीबार ०२:४४

१४ वैशाख २०८०, काठमाडौँ : नागार्जुन नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिका वडा नं १ मा नगरपालिकाको नाममा रहेको सहरी विकास मन्त्रालयबाट हस्तान्तरण भएको भवनमा संभव भए सम्मका आवश्यक स्वास्थ्य पूर्वाधार व्यवस्था गरी नगर अस्पताल सञ्चालन गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको हो ।



उक्त भवनमा अहिले सहरी स्वास्थ्य केन्द्र सञ्चालन समेत हुँदै आएको छ । तत्कालका लागि सोही स्थानमा आवश्यक पर्ने पूर्वाधार, कर्मचारी, स्वास्थ्य सामाग्री नगरपालिकाबाट व्यवस्था गरी नगर अस्पताल सञ्चालन गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको नागर्जुन नगरपालिकाले जनाएको छ ।



नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । सहरी विकास मन्त्रालयबाट हस्तान्तरित उक्त भवनमा निम्न आय भएको व्यक्तिलाई राख्नका लागि निर्माण भएको र विगतमा कोभिड १९ अस्पताल, आइसोलेशन वार्ड समेत सञ्चालन गरिएको थियो । यस नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम अनुसार स्वास्थ्य बीमा कार्यक्रम नगरपालिकामा लागू गर्ने निर्णय भएको थियो ।



नेपालको संविधानले निःशुल्क आधारभूत स्वास्थ्य सेवा र सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ । वर्तमान संविधानको धारा ५१ मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धि नीति अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख गरिएको नगरपालिकाद्धरा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


नगरपालिकाको स्वास्थ्य शाखाले स्थलगत स्थलगतरुपमा नगरपालिका भित्रका अन्य सरकारी स्वास्थ्य संस्था वा नगरपालिकाले प्रयोगमा ल्याइ अस्पताल सञ्चालन गर्न सकिने किसिमको पूर्वाधार भएका भवन वा ठाउँको अध्ययन गरी सोको प्रतिवेदन नगरपालिकाई दिएको थियो । सोही प्रतिवेदनका आधारमा नगर कार्यपािलकाको बैठकले वडा नं १ मा रहेको सहरी विकास मन्त्रालयबाट हस्तान्तरित भवनमा नगर अस्पताल निर्माण गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न लागेको हो ।


त्यस्तै बैठकले नागार्जुन नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने विषयहरु संघ संस्था दर्ता र आर्थिक सहयता सम्बन्धी कानुन, खानेपानी ऐन र फोहोरमैला व्यवस्थपन गर्नका लागि कानुनी व्यवस्था गर्न आवश्यक देखिएको हुँदा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा मस्यौदा समिति गठन गरी कार्य प्रक्रिया अगाडि बढाउने र सो समस्यौदा विधायन समितिमार्फत पेश गरी आगामी नगर सभाबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।


नगरपालिकमा कार्यरत सबै कर्मचारी शिक्षकको हाजिर विवरण व्यवस्थित गर्न बायोमेट्रिक सिस्टम लागू गर्ने र केन्द्र तथा वडा कार्यालयहरुमा सीसी क्यामरा समेत जडान गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिकृया