• २६ भदौ २०८३, शुक्रबार
  • ११ः५१ बिहान

आज विविध कार्यक्रमको आयाेजना गरी अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

प्रकाशित मिति

२०७९ फाल्गुन २४ गते, बुधबार ०८:२५

२४ फागुन, २०७९, काठमाडौँ: आज अन्तर्राष्ट्रिय नारी दिवस। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । आज ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमहरु आयोजना गरिँदै छ ।

National Life

यो दिनलाई महिलालाई महिला भएकोमा लाज होइन गर्व गर्नु पर्छ भन्ने कुरालाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका महिलाको योगदानको कदर गर्ने दिनका रुपमा पनि लिइन्छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवधारणा अमेरिकाको सोसिअलिस्ट पार्टीले सन् १९०९ को फेब्रुअरी २८ मा घोषणा गरेको राष्ट्रिय महिला दिवसबाट प्रभावित भएको हो ।


अर्को वर्ष अर्थात सन् १९१० मा विश्वभरका सोसिअलिस्ट डेनमार्कमा भेला भए र सहभागीले अन्तर्राष्ट्रिय महिला दिवसको अवधारणा पारित गरे । त्यसको अर्को वर्ष मार्च १९ मा पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो, त्यो बेला यसलाई कामकाजी महिलाको अन्तर्राष्ट्रिय दिवस भनिन्थ्यो । पहिलो महिला दिवसमा डेनमार्क, जर्मनी, स्वीट्जरल्याण्ड र अस्ट्रियामा र्‍याली भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाएको हप्ता दिन पनि नपुग्दै अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ट्रिएन्जल सर्टवेस्ट फ्याक्ट्रीमा आगलागी भयो । त्यसमा १४६ जनाको ज्यान गयो, ज्यान गुमाउनेमा अधिकांश त्यहाँ कार्यरत आप्रवासी महिला थिए ।


यो घटनाले उद्योगमा काम गर्ने अवस्था र परिवेशबारे मुख्य परिवर्तनको कारण बन्यो । त्यहि आगलागीमा मारिएका कामकाजी महिलाको सम्झनाको रुपमा पनि अन्तर्राष्ट्रिय महिला दिवस रहने गरेको छ । सुरुका वर्षहरुमा अन्तर्राष्ट्रिय महिला दिवस कामकाजी महिलाको अधिकार र उनीहरुको सबलीकरणका सवालमा केन्द्रित थियो ।


रुसमा पहिलो पटक सन् १९१३ को फेब्रुअरीमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको थियो । सन् १९१४ मा पहिलो विश्व युद्ध सुरु भयो । मार्च ८ मा महिलाहरुले युद्ध विरुद्ध र्‍याली गरे । महिलाहरुले युद्धको समयमा विश्वभरबाट एकताको प्रदर्शन गरे ।


सन् १९१७ को फेब्रुअरी २३ (रुस), पश्चिमी क्यालेन्डरमा भने मार्च ८ का दिन रुसका महिलाले महत्वपूर्ण बन्द आह्वान गरे । यसलाई जार शासन पतनको आधार विन्दु मानिन्छ । त्यसपछिका केही वर्ष पूर्वी युरोप र सोभियत युनियनमा मार्च ८ को दिन सार्वजनिक बिदा हुने गर्‍यो । बिस्तारै यो दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा स्वीकार्य हुँदै गयो ।


संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७५ मा अन्तर्राष्ट्रिय महिला वर्ष मनाइयो । त्यसपछि सन् १९७७ मा संयुक्त राष्ट्रसंघले आधिकारिक रुपमा महिला अधिकारको उत्सवको रुपमा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसलाई मान्यता दियो । यो दिनलाई संयुक्त राष्ट्रसंघले ‘महिला अधिकारका क्षेत्रमा भएका प्रगतिको परिदृश्य दर्शाउन, परिवर्तनका लागि आह्वान गर्न र उत्प्रेरणा प्रदान गर्ने खालका कानुनको सम्मान गर्न तथा सामान्य महिलाले देखाएको लगनको जसले महिला अधिकारको इतिहासमा अतुलनीय योदान गरेका छन्, त्यो देखाउन’ मनाइने दिनको रुपमा उल्लेख गरेको छ ।


सन् २०११ मा अन्तर्राष्ट्रिय महिला दिवसको १०० वर्ष पूरा भएको अवसरमा विश्वभर विविध कार्यक्रम भए । त्यसपछिका वर्ष अन्तर्राष्ट्रिय महिला दिवसले थप सघन रुप लिइएको छ । संयुक्त राष्ट्रसंघले तय गरेको दीगोविकास लक्ष्य २०३० मा महिलामाथि महिला भएकै कारण हुने सबैप्रकारका हिंसा वा विभेद अन्त्य गर्ने लक्ष्य राखिएको छ ।


अन्तर्राष्ट्रिय महिला दिवसलाई महिलावादी आन्दोलनको जन्मदाताको रुपमा पनि लिने गरिएको छ । विश्वभरका महिलाले यो दिनलाई आफ्ना अधिकारको खोजी र विभेद विरुद्ध बोल्ने दिनको रुपमा लिने गरेका छन् ।

प्रतिकृया