कप्तान देवको अर्धशतक
प्रकाशित मिति
२०७९ फाल्गुन १८ गते, बिहीबार १२:५३
१८ फागुन २०७९, काठमाडौँ: आईसीसी यू–१९ विश्वकप एसियाली छनोटको अन्तिम खेलमा घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालका कप्तान देव खनालले अर्धशतक बनाएका छन् । यूएईको इडेन गार्डेन ओभल अज्मानमा नेपालबाट चौथो नम्बरमा ब्याटिङका लागि आएका देवले ७८ बलमा तीन चौका र एक छक्कासहित ५० रन पूरा गरे । प्रतियोगितामा यसअघि देवले कुवेतविरुद्ध १२५ र सिंगापुरविरुद्ध २१ रन बनाएका थिए ।
देवले चौथो विकेटका लागि उत्तमरंगु थापामगरसँग ८४ रनको साझेदारी गरेका थिए । पाँचौँ नम्बरमा ब्याटिङका लागि आएका उत्तम ४८ बलमा तीन चौका र एक छक्कासहित ३६ रन बनाएर पभेलियन फर्किए ।
१९–३ को खराब अवस्थाबाट यी दुईले नेपालको इनिङ उकासेका थिए । देवसँगै क्रिजमा रहेका विशालविक्रम केसी ६ रन बनाएर खेलिरहेका छन् । २८ ओभरको खेल सकिँदा नेपालले चार विकेट गुमाएर ११४ रन बनाएर बनाएको छ ।
त्यसअघि, नेपालका ओपनर दीपक बोहरा ‘गोल्डेन डक’ भएका थिए । अर्का ओपनर अर्जुन कुमाल तीन रनमा आउट भए । आकाश त्रिपाठी नौ रनमा पभेलियन फर्किएका थिए । टस हारेर नेपालले पहिले ब्याटिङ गरेको हो ।
आजको खेलमा विजयी हुने टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा छनोट हुनेछ । छनोटमा नेपाल र यूएईसँगै कुवेत, मलेसिया र हङकङ सहभागी छन् ।







प्रतिकृया