• २४ भदौ २०८३, बुधबार
  • १०ः३७ राती

आज राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मनोनयन दर्ता, एकै जिल्लाका दुई जना भिड्दै

प्रकाशित मिति

२०७९ माघ ११ गते, बुधबार ११:४०

११ माघ, २०७९, काठमाडौँ : लुम्बिनीमा हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमाले र नेपाली कांग्रेसले एकै जिल्ला राेल्पा निवासी दुई जनालाई उम्मेदवार बनाउने भएका छन्। एमालेले कुमार दसौदी र कांग्रेसले माधव आचार्यलाइ उम्मेदवार बनाउने भएको हाे। एमालेले उम्मेदवार उठाउने दसाैदी पार्टी केन्द्रीय सदस्य रहेका छन्। उनलाई नेकपा माओवादी केन्द्रसहित सत्तारूढ दलको समर्थन रहनेछ। माघ २५ मा हुने उपनिर्वाचनका लागि आज बुधबार मनोनयन दर्ताकाे कार्यतालिका छ।

National Life

नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले निर्वाचन कार्यतालिका अनुसार ११ बजे दाङस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने जानकारी दिए।


प्रमुख विपक्षी दल कांग्रेसले रोल्पाका माधवप्रसाद आचार्यलाई उम्मेदार बनाउने निर्णय गरेकाे हाे। अहिले भरखर आचार्यलाई उम्मेदार बनाउने निर्णय भएको कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए। आचार्य रोल्पाको पूर्व जिल्लासभापति र अहिलेसम्म कुनै लाभको पद नलिएका नेतामध्येमा पर्दछन्। नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन लागेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

उपनिर्वाचनका लागि सार्वजनिक गरिएको निर्वाचन कार्यतालिका अनुसार माघको ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता, माघको १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालीका रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।


राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ। लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३०५ रहेको छ। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।


प्रदेशका १०९ पालिकामध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ भने एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २-२ तथा राप्रपा र जनता प्रगतिशीलले १-१ स्थानमा जितेका छन्। त्यस्तै, प्रदेशमा ८७ सदस्यीय प्रदेशसभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४-४, जसपा, लोसपा र जनमतले ३-३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १-१ र स्वतन्त्र २ जनाले जितेका छन्।

प्रतिकृया