पदीय जिम्मेवारीलाई इमान्दारीसाथ निर्वाह गर्छुः नवनिर्वाचित उपसभामुख रानामगर
प्रकाशित मिति
२०७९ माघ ७ गते, शनिबार ०७:३०
७ माघ, २०७९, काठमाडौँ: नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । उपसभामुखमा निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएकी हुन्। विपक्ष दलका सांसदहरुले समेत उठाएका इस्यूहरुलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने बताइन्।
उपसभामुख रानामगरले संविधानले दिएको अधिकारभित्र रहेर संसदको कामलाई अझ बढी प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि बताइन्।

नेपाली जनताको हक, अधिकारीलाई निडर र अविचलित भएर स्थापित गराउन आफूले काम गर्ने उनको भनाइ थियो । उपसभामुख रानामगरले भनिन्, ‘नेपालको संविधानले व्यवस्था गरेको भूमिकालाई म इमान्दारीसाथ निभाउनेछु। गठबन्धनदेखि लिएर विपक्ष पार्टीका सम्पूर्ण माननीयज्यूहरुलाई उठाएका इस्यूलाई एकदम इमान्दारीसाथ तटस्थ भएर सम्माननीय समामुखज्यूसँग सहकार्य गरेर उहाँलाई सहजीकरण गर्ने र अझ प्रभावकारी र मर्र्यादित र सुसंस्कृत गर्ने काम हुन्छ। उपसभामुखले धेरै काम गर्नुपर्ने जस्तो लागेको छ । आम जनताको हक, अधिकारलाई निडर र अविचलित भएर मैले कार्य गर्नेछु । तटस्थ र इमान्दारीसाथ सबैको पक्षमा बोल्नेछु।’

उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढ्नेसमेत बताइन्।




प्रतिकृया