गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त
प्रकाशित मिति
२०७९ पुष २५ गते, सोमबार ०३:३५

२५ पुस २०७९, पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना) को समर्थनमा खगराजले मुख्यमन्त्री दाबी गरेका थिए । केन्द्रले आइतबार बेलुका भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेपछि प्रदेश प्रमुखले दिएको समय सीमाको अन्तिम दिन अधिकारीले दाबी पेश गरेका थिए । एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की १ को प्रदेश सभा १ बाट चुनाव जितेका हुन् ।
एमालेले पूरै कार्यकालका लागि मुख्यमन्त्री पाएपछि मुख्यमन्त्री दाबी गर्दै आएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले असन्तुष्टी जनाएका थिए । गण्डकीमा माओवादीले सभामुख प्राप्त गरेको छ ।
प्रतिकृया