• २२ भदौ २०८३, सोमबार
  • १२ः३२ दिउँसो

आफ्नै नाममा दर्ता गरेको सिमकार्ड प्रयोग गरी सुरक्षित रहन टेलिकमकाे आग्रह

प्रकाशित मिति

२०७९ पुष २० गते, बुधबार ०४:११

२० पुस २०७९, काठमाडौँ: हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रुपमा मात्र नरही राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ कारोबार, सेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरुमा मोबाइल नम्बरको प्रयोगले जीवनशैली सहज बन्दै गएको छ ।

National Life

यसका साथै मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरु, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरुमा पहुँच पुर्याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै समवेदनशील वस्तुका रुपमा पनि स्थापित हुन गएको छ । आफूले प्रयोग गरिरहेको/गर्ने मोबाइल नम्बर आफ्नै नाममा दर्ता रहेको अवस्थामा उल्लेखित सम्पूर्ण कार्यहरु सुरक्षित ढंगले सम्पन्न गर्न सकिने अवस्था रहेको छ ।


प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिग कारोबार र अन्य कतिपय महत्वपूर्ण व्यक्तिगत सामग्रीहरु असम्बन्धित व्यक्तिको पहुँचमा पुग्न सक्ने जोखिम सधैं रहने देखिन्छ । यस अवस्थामा प्रयोगकर्ताको मोबाइल बैंकिंगको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानूनी झमेलामा समेत पर्ने सम्भावना रहन्छ । यस्तो अवस्थाको सिर्जना नहोस् भनी नेपाल टेलिकमले सम्पूर्ण ग्राहकवर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गरेकाे छ ।

Classic Tech Desktop

मोबाइल सेवाको परिकल्पना गरी प्रविधि विकास हुँदा मुख्य उद्देश्य कुराकानी गर्ने वा सन्देश पठाउने मात्र रहेको र आर्थिक कारोबार लगायत समवेदनशील गतिविधि हुने परिकल्पना नगरिएकोमा समय क्रमसँगै विकसित प्रविधिका कारण हाल यसको प्रयोग जीवनका सबै पक्षसँग जोडिएको छ । यस्तो अवस्थामा मुख्यत मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाहरुले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड) को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याई दिन पनि नेपाल टेलिकमले अनुरोध गरेकाे छ ।

प्रतिकृया