मेस्सी र ‘गोट’ को बहसबारे फिफाले नै गरिदियो नयाँ खुलासा
प्रकाशित मिति
२०७९ पुष ६ गते, बुधबार १२:३४

६ पुस २०७९, काठमाडौँ: सन् २००६ को विश्वकपमा एकसाथ प्रवेश गरेका अर्जेन्टिनी स्टार लियोनल मेस्सी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले फुटबलमा नयाँ बहस सिर्जना गरे । विश्वभरका फुटबल समर्थकहरु दुई धारमा बाँडिए।
एकाथरिले मेस्सीलाई उत्कृष्ट भने, अर्काथरिले रोनाल्डोलाई। मेस्सी कि रोनाल्डो उत्कृष्ट भन्ने बहस १६ वर्षदेखि चल्दै आएको थियो । अन्ततः मेस्सीले नै आफूलाई उत्कृष्ट प्रमाणित गरे। कतारमा दुवैले अन्तिम विश्वकप खेलेका थिए। मेस्सीको कप्तानीमा अर्जेन्टिना र रोनाल्डोको कप्तानीमा पोर्चुगल कतार पुगेको थियो ।
दुवैको लक्ष्य थियो आफ्नो अन्तिम विश्वकपमा राष्ट्रलाई उपाधि दिलाउने । तर मेस्सीले लक्ष्य पूरा गरेको विश्वकपमा रोनाल्डोको टिम क्वार्टरफाइनलबाटै बाहिरियो । त्यसमा पनि रोनाल्डोको विश्वकप यात्रा सुखद रहेन ।
मेस्सीले एकपछि अर्को कीर्तिमान बनाउँदै जाँदा रोनाल्डो भने विपक्षीसँग होइन आफ्नै टिमभित्र संघर्ष गरिरहेका थिए। टिमकै केही खेलाडी र प्रशिक्षकसँगको मनमुटाव मैदानमै देखिएको थियो ।
प्रशिक्षक फर्नान्डो सान्तोषले नकआउट चरणमा रोनाल्डोलाई बेन्चमा राखिदिए । क्वार्टरफाइनलमा पनि उनले पहिलो रोजाइमा मौका पाएनन्। रोनाल्डोको नेतृत्वमा पोर्चुगलले क्वार्टरफाइनलभन्दा अगाडिको यात्रा तय गर्न सकेन ।
उनको डेब्युमा २००६ को विश्वकपमा क्वार्टरफाइनल पुगेको पोर्चुगल उनको अन्तिम विश्वकपमा पनि अन्तिम ८ बाटै विदा भयो । पोर्चुगलको हारपछि रोनाल्डो रुँदै मैदानबाट विदा भए। रोनाल्डोलाई प्रशिक्षक र सहकर्मीले गरेको व्यवहारले उनका समर्थक पनि दुःखी भए। विश्वकपमा ५ खेल खेल्दा उनले पेनाल्टीमा एक गोल गरे ।
उनका प्रतिस्पर्धी भनिएका मेस्सी गोल्डेन बुटको दौडमा थिए । विश्वकपमा ७ गोल गरेका मेस्सीले सबैभन्दा बढी ३ गोलमा असिस्ट पनि गरे। मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रलाई विश्वकप दिलाए ।
विश्वकपमा दोस्रो पटक उत्कृष्ट खेलाडी पनि बने मेस्सी। जो दोस्रो पटक उत्कृष्ट बन्ने पहिलो र एक मात्रै हुन् । मेस्सीले विश्वकप जितेसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भनेको छ, ‘को सर्वोत्कृष्ट भन्ने बहस सकियो। मेस्सीले पाउन बाँकी एक मात्रै पुरस्कार पनि प्राप्त गरे । उनको विरासत पूरा भयो ।’
विश्व फुटबलमा सबैभन्दा ठूलो उपलब्धि हासिल गर्ने मेस्सी नै हुन्। व्यक्तिगत रुपमा उनले सबैखाले पुरस्कार प्राप्त गरिसकेका छन् । तर उनलाई एउटै आरोप थियो राष्ट्रलाई ठूला उपाधि दिलाउन नसकेको ।
त्यो पनि डेढ वर्षको फरकमा दुई उपाधि दिलाउँदै पूरा गरेका छन्। डेढ वर्ष पहिले कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले उनकै कप्तानीमा विश्वकप पनि जित्यो ।
प्रतिकृया