२ जना चालक नराख्ने ४१ ओटा सवारी साधन कारवाहीमा
प्रकाशित मिति
२०७९ पुष १ गते, शुक्रबार १२:२८
पुष १, २०७९, काठमाडौं : लामोदुरीका यात्रुबाहक सवारी साधनमा २ जना चालक नराख्ने ४१ ओटा सवारी साधनका चालकलाई “TRAFFIC COMMUNICATION APPLICATION” (TCA) मार्फत ट्राफिक प्रहरीले कारवाही गरेको छ । काठमाडौँको नागढुंङगा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाईएपछि कारवाही गरिएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार “TRAFFIC COMMUNICATION APPLICATION” मा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमती पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछी नागढुङगा नाका सहित सातै ओटा प्रदेशका १५ (पन्ध्र) ओटा स्थानमा रहेको चेक प्वाईनटमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए- नभएको एकिन गर्ने गरिन्छ । २०७५ माघ २८ गतेबाट शुरु भएको यो चेकिङ केही समय, संचालन पछि कोभिड लगायत अन्य विविध कारणले रोकिएकोमा पुन: २०७९ असोज ३१ गतेबाट शुरुवात गरे पश्चात २ महिनाको अवधीमा ४१ ओटा सवारी साधनका चालक कारवाहीमा परेका हुन् ।
उहाँका अनुसार “सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नु पर्ने व्यवस्था अन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा कम्तिमा दुईवटा चालक अनिवार्य रूपमा राखी प्रत्येक छ घण्टापछि पालै पालोसंग सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनेछ” भनिएको हुँदा ऐन अनुसार गर्नु पर्ने साथै तनाव र थकानले दुर्घटनाको जोखिम बढ्ने भएकाले अनिवार्य रुपले लामोदुरीका यात्रुबहाक सवारी साधनमा दुई जना चालकको व्यवस्था गर्न गराउन सबैको दायित्व हुने बताउनु भएको छ ।








प्रतिकृया