• १२ असोज २०८३, सोमबार
  • ६ः०६ बिहान

आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन : देशभर मतदान हुँदै

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार ०६:२९

४ मंसिर २०७९, काठमाडौं : आज संघीय निर्वाचन हुँदैछ। निर्वाचन आयोगले देशभर एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्न लागेको हो। आगामी पाँच वर्षका लागि सङ्घ र प्रदेशमा नेतृत्व चयनका लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरूले मतदान गर्न पाउनेछन्। आयोगले प्रत्यक्ष तथा समानुपातिकतर्फ आज एकसाथ मतदान गर्ने तयारी गरेको हो।

National Life

निर्वाचन आयोगले निर्वाचनको सबै तयारी पूरा गरिसकेको छ भने निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गराउनका लागि सबैलाई अपिल गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित ढङ्गले सम्पन्न गर्नका लागि कडा सुरक्षाको व्यवस्था गरेको बताइसकेका छन्। मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् भने मतदानस्थल र मतदान केन्द्र निर्माण कार्य शनिबार नै सकिएको छ।


२२ हजार दुई सय २७ मतदान केन्द्र

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्दै छन्। यसैगरी एक सय ४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन्। निर्वाचनमा प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि दुई हजार चार सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।


यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार एक सय ९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ। प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन हजार दुई सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार सात सय आठ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम छ।


यसरी निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कूल पाँच हजार छ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार नौ सय सात उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि तीन करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड छ लाख पाँच हजार गरी कूल आठ करोड पाँच लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको छ।

प्रतिकृया