• 5:23 am

मतदाताले परिवर्तन खोजिरहेको अवस्थामा मेरो उम्मेदवार विकल्पको रुपमा हो : शोविता गौतम

प्रकाशित मिति

२०७९ कार्तिक २९ गते, मंगलवार ०४:१५

सुमित्रा अधिकारी

२९ कार्तिक २०७९, काठमाडौँ : काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सोविता गौतमको अहिले घरदैलो कार्यक्रममा व्यस्त छिन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्ती र एमाले उम्मेदवार मणिराम फुयाँल सोविताका प्रतिस्पर्धी रहेका छन् । नेपाल टेलिभिजमा स्वास्थ्य सरोकार कार्यक्रम सञ्चालन गर्ने सोबिता चुनावी मैदानमा खडा भएसँगै ओनसरी र मणिराममाथि चुनौती थपिएको छ । प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेवार बनेकी उनलाई दुवै उम्मेदवारले प्रतिस्पर्धीको रुपमा हेरेका छन् । अधिवक्ता समेत रहेकी सोबितालाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार बनाएसँगै युवा, स्वतन्त्र र सुशासनमा विश्वास गर्ने मतदाताले उपयुक्त विकल्प पाएको उनी बताउँछिन् । गत शनिवार अभिनेत्री वर्षा सिवाकोटीले उनको पक्षमा भोट मागेकी थिइन् भने मोडल तथा टेलिभिजन होस्ट रेश्मा घिमिरे पनि उनकै साथमा उभिएकी छिन् । त्यसअघि मोडल उषा उप्रेतीले पनि सोविताको पक्षमा भोट मागेकी थिइन् ।


मातृभूमिन्युजका संवाददाता सुमित्रा अधिकारीसँग कुराकानी गर्दै उनलाई अनुभवी राजनितीज्ञहरू अघि आफुलाई कतिको चुनौती महसुस गर्नु भएको छ भन्ने प्रश्नमा उनले भनिन्, “म स्वच्छ मन लिएर इमानदरीता पूर्व राजनीतिमा प्रवेश गरेकी छु । मेरो आज सम्मको पृष्ठभूमि जोसुकैले केलाएर हेर्नु भयो भने कसैलाइ हानी हुने गरी केही पनि काम गरेकी छैन । म युवा पुस्ताको आवाज बोकेर हिंडेको मानिस हुँ । अब देश बनाउन राजनीतिमा युवा पुस्ताको नेतृत्व हुनुपर्दछ भनेर अगाडि बढेकी हुँ । हाम्रो यस अभियानमा अरु युवाहरु पनि जोडिएर मलाई सहयोग गर्नुहुन्छ भन्ने आशा लिएकी छु । यो निर्वाचन भनेको सामान्य निर्वाचन होइन । एउटा मतपत्रमा भोट हाल्ने अनि सकिने, यो त्यस्तो कदापि होइन । यो निर्वाचनले पुराना नेताहरु जसले मौका पाएर काम गर्न सकेनन्, तिनीहरुलाई फेरि मौका दिने कि नयाँ जोश जाँगर बोकेर हिंडेको हामी जस्ता युवालाई मौका दिने भन्ने कुराको निर्णय गर्दछ । जहाँसम्म मलाई लाग्दछ अब युवाहरुले नयाँ पार्टी र नयाँ अनुहारलाई प्रश्रय दिनेछन् ।


घरदैलो कार्यक्रममा कस्तो प्रतिक्रिया पाउनुभएको छ भन्ने प्रश्नमा उनी भन्दछिन्, “एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु । म आफै फिल्डमा जाँदा धेरैजसो व्यक्तिहरु हाम्रो पार्टीप्रति र म प्रति सकारात्मक हुनुहुन्छ तर कतिपय ठाँउमा भने नराम्रो लाग्दछ किनकी मैले गरेको नमस्कार पनि फिर्ता गर्नुहुन्न उहाँहरुले । तर मैले यसलाई स्वभाविक रुपमा लिएकी छु किनभने मान्छेको घरमा पानीको दुःख छ । शौचालय जान, खाना पकाउन देखि लिएर अन्य प्रयोजनका लागि पानी छैन । अनि त्यस्तो ठाउँमा भोट माग्न जाँदा उनीहरुले गर्ने व्यवहारलाई मैले सामान्य लिएकी छु । म त्यो स्थानमा हुन्थे भने पनि शायद त्यस्तै नै गर्दथें होला । यी सबै कुराहरू फोहोरी राजनीतिले निम्त्याएको परिणाम हो । यस्ता कुरालाई स्वभाविक रुपमा लिएकी छु । राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा नागरिकहरु उत्साहित हुनुहुन्छ र हामीलाई भोट दिने वचन दिनुभएको छ ।”


उनी अगाडि भन्दछिन्, “संसदीय हिसाबले जति नै एजेण्डा अहिले बनाए पनि पुग्दैन किनभने संसदमा निर्वाचीत भएर गईसके पछि पाँच वर्षका लागि सदनमा प्रस्तुत हुँदा कुनै न कुनै विषयमा, मुद्दामा बहसहरू गर्नुपर्छ र ती मुद्दाहरूलाई कानुनसँग सम्बन्धित बनाउन प्रयत्न गर्नुपर्छ । त्यसैले अहिले बनाएका लामा लामा घोषणा मानिसले पढ्दैनन् । त्यसैले हामी सीमित एजेन्डाहरू लिएर हिंडेका छौं अरु हामी पछि सदनमा उठाउनेछौं । निर्वाचन हुनु भन्दा अघि जसरी भोट माग्नका लागी हिडिरहेका छौं, त्यसै गरी निर्वाचन भइसके पछि पनि गाउँ गाउँ बस्ती, बस्ती गएर त्यहाँका समस्या सुनेर ती समस्यालाई सदनमा उठाउनेछु ।”


जनताले उनको क्षेत्रमा विभिन्न समस्याहरु भोगेको उल्लेख गर्दै उनी भन्दछिन् कि उनको क्षेत्रमा खानेपानीको व्यापक समस्या छ । मतदाताहरुले जसले खानेपानी ल्याउँछ तिनैलाई भोट दिने भनेका छन् । त्यसैले उनी आफ्नो एजेण्डामा खानेपानी, ढल, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरु समावेश गरेको बताउँछिन् ।


आफू केही समय अगाडि मात्र जोडिएको पार्टीबारे उनी बताउँछिन्, “राष्ट्रिय स्वतन्त्र पार्टी आफैमा नयाँ बनि रहेको पार्टी हो । नयाँ पार्टीको बाचापत्रमा कुरा पक्कै पनि नयाँ नै पाइन्छ । हाम्रो पार्टीको बाचापत्रका बारेमा भन्न पर्दा पहिलो हामीले यो निर्वाचन प्रक्रियामै सुधार ल्याउनु पर्छ भन्ने हाम्रो मुख्य मुद्दा रहेको छ । किनभने लोकन्त्रमा निर्वाचन जति स्वतन्त्र भयो, जति कुरा राम्रो भयो, त्यति नै राम्रो परिणाम आउने हुन्छ । यसमा म भोट कसैलाई दिन्न ,भन्ने अधिकार पनि हुनु पर्छ र आफूले चुनेको प्रतिनिधिको काम मन परेन भने फिर्ता बोलाउने अधिकार पनि हुनुपर्दछ । विद्युतीय मतदान यन्त्रहरू प्रयोग गर्ने व्यवस्ता गर्ने, विदेशमा रहेका हकमा पनि बसोबास गरी रहेकै हकमा मतदान गर्न पाउने व्यवस्ता लागु गराउने भन्ने कुराहरु छन् । सुशासनका कुरा गर्दा खेरि सबै पार्टीले यस बारेमा भनी रहेपनि यसमा हामीले प्रतिस्पर्धाको माध्यबाट लिने छौ । अहिले सम्म सबै राजनीतिक नियुक्तीहरू आफ्नो इच्छा अनुसारले गरिरहेका हुन्छन भने यसमा हामी प्रतिस्पर्धाका आधारमा राजनीतिक नियुक्ती गराउन पर्दछ भनी वकालत गर्न चाहन्छौं जस्तै योजना आयोग प्रमुख हुनु प¥यो भने प्रतिष्पर्धाको आधारमा ल्याउने प्रावधान हुनुपर्दछ भनी हामी भन्दछौं ।”

प्रतिकृया