हामीले यो निर्वाचनबाट स्थायित्व प्राप्त गर्दछौं, ५ वर्षको लागि स्थायित्व प्राप्त गरेर विकासका खाकाहरु कोरेर अगाडि बढ्छौं : दुर्लभ थापा
प्रकाशित मिति
२०७९ कार्तिक २८ गते, सोमबार ०४:४८

२८ कात्तिक, २०७९, काठमाडौँ: दुर्लभ थापा आसन्न निर्वाचनमा नेपाली कांग्रेस तथा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभा निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट रुख चिन्ह लिएर मैदानमा होमिएका छन् । उनी निवर्तमान भक्तपुर जिल्ला पार्टी सभापति थिए । यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका लागि टिकट दिइएको हो । उनको अहिलेको चुनावमा चुनावी एजेण्डा, चुनाव जितेपछि उनले गर्ने कार्य योजना तथा विविध विषयको सेरोफेरोमा रहेर मातृभूमिन्यूजका सम्पादक मनोजराज रेग्मीले उनीसँग गरेको टेलिफोन अन्तर्वार्ताको सम्पादित अंशः
नेपालको पछिल्लो राजनीतिक परिदृश्यलाई कसरी लिनुभएको छ भन्ने प्रश्न गर्दा उनले भने, “वि.स. २०७४ सालको निर्वाचनमा ठूलो उमंगका साथ आम मतदाताहरु सहभागी भए । त्यसले विकृति र विसंगति मात्र भित्र्याएको छ । युवाहरुको जुन सुनौलो भविष्य निर्माण गर्ने सपना थियो त्यसमा कुठाराघात भएको छ र त्यसपछि विकृति, विसंगति र अधिनायकवाद मात्रै आएको मैले पाएको छु ।”
अहिलेको तपाईको चुनावी एजेण्डाहरुमा के के कुरालाई अघि सार्नुभएको छ भनी प्रश्न गर्दा उनले भने, “ हामीले एजेण्डाहरु घोषणापत्रमा सार्वजनिक गरेका छौं । हामी लोकतान्त्रिक बाम गठबन्धन सहित सँगै छौं । प्रत्येक चुनावमा एउटै एजेण्डा आएको हुन्छ खानेपानी, बत्ती, ढल, स्वास्थ्य, सरसफाई, रोजगारी । यी कुराहरु मौलिक अधिकार हुन् र निर्वाचित भैसकेपछि यी कुरालाई हामी कानुनै निर्माण गरेर अगाडि बढाउँछौं । स्थानिय तहलाई अधिकार प्रत्यायोजन गरेर स्थानीय तहमा यो अधिकार दिन्छौं, प्रदेश तहमा यो अधिकार दिन्छौं । त्यसैगरी ठूला ठूला आयोजनाहरुको बारेमा केन्द्रिय सरकारले हेर्दछ । मैले भक्तपुरको समग्र विकासमा जोड दिइरहेको छु । हामीले प्रचार प्रसारमा भन्दा पनि काममा विश्वास गर्दछौं । म प्रत्येक जनताको घर घरमा गएर जनताको पीर मर्का बुझी उनीहरुको समस्या समाधान गर्ने तर्फ लाग्नेछु । ”
अहिलेको गठबन्धन किन र के का लागि भएको हो भन्ने प्रश्नमा उनले भने, “नेपाली कांग्रेसले २००७ सालको क्रान्तिमा होस् कि २०४६ सालको आन्दोलन होस् वा ६२–६३ को आन्दोलन यी सबैको नेतृत्व गरेको थियो । हिंजो आन्दोलनमा जाँदा सबै दलहरुलाई मिलाएर लैजाने क्षमता हामीसँग छ । जब संविधानमाथि प्रहार भयो, लोकतन्त्रमाथि खतरा भयो, दुई तिहाईको सरकारले स्थायित्व दिन सकेन, सरकार विघटन भयो, फेरि पुर्नस्थापना भयो र फेरि विघटन भयो । त्यसैले हामी बाध्य भएर यो गठबन्धन बनाएका हौं । हामी शालिन प्रतिपक्षमा थियौं । कांग्रेसले नै यो सबै नेतृत्व गर्न सक्दछ भनेपछि यो गठबन्धन बनेको हो । गठबन्धन बनेपछि हामीले महत्वपूर्ण एमसीसी पास ग¥यौं र नागरिकता विधेयक पनि पासै गरेर पठाएका थियौं । नेकपा एमालेले आफ्नो स्वार्थको लागि राष्ट्रपतिलाई प्रयोग गरेर पास हुन दिएन । हामीले शान्तिपूर्ण तरिकाले स्थानीय निर्वाचन सम्पन्न ग¥यौं । अहिले प्रदेश र संघको निर्वाचन पनि गर्न लागिरहेका छौं । यो गठबन्धनमार्फत स्थानीय तहको निर्वाचन सम्पन्न गरिसकेपछि अब ५ वर्ष स्थायित्वको लागि गठबन्धन गर्दछौं । प्रतिनिधिसभा मार्फत नीति नियम, ऐन, कानुन बनाएर यो मुलुकलाई कसरी समृद्धितिर लान सकिन्छ भन्ने तर्फ हाम्रो ध्यान आकर्षित छ र यो गठबन्धन ५ वर्ष नै टिक्छ ।”
विभिन्न जन आन्दोलनहरुका बाबजुद देशले प्रगति र विकास किन गर्न नसकेको भन्ने प्रश्नमा उनले विकास रातारात हुने कुरा नभएको बताएका छन् । “नेपालमा विकास नभएको होइन, आजभन्दा ४, ५ सय वर्ष अगाडि देखि नेपाल विकास भएको देश हो । पछिल्लो पटक राजा महाराजाको कारणले यो देशको विकास हुन सकेन । ४६ सालको आन्दोलनपछि मुलुकमा केही आर्थिक समृद्धि त भएको थियो तर प्रतिगामी तत्वको चलखेल र हाम्रो कमजोरीको कारणले गर्दा २०४६ सालको उपलब्धि पनि गुम्यो । फेरि ज्ञानेन्द्रले तानाशाही लाद्न खोजे, नेपालले कहिले पनि स्थायित्व प्राप्त गर्न सकेन । हामीले यो निर्वाचनबाट स्थायित्व प्राप्त गर्दछौं । ५ वर्षको लागि स्थायित्व प्राप्त गरेर विकासका खाकाहरु कोरेर अगाडि बढ्छौं”, उनले भने ।
जनताले उनलाई किन भोट दिने भन्ने प्रश्न गर्दा उनले भने, “विगतमा नेकपा एमालेलाई जनताले दुई तिहाई मत दिएकै हुन्, त्यत्रो मत प्राप्त गर्दा पनि नेकपा एमालेले के ग¥यो ? हिजो चुनावमा गरेका प्रतिबद्धताहरु कति पुरा भए ? नेकपा एमाले के कति प्रतिबद्धता गरे त्यो कुरा जनताले मूल्याकंन गर्नु जरुरी छ । तर हामी झुटको खेती गर्दैनौ, नसक्ने कुरा बोल्दैनौ, चुनावपछि नेकपा एमालेलाई पनि प्रतिपक्षीमा राखेर साथै लिएर जान्छौं ।”
आगामी निर्वाचनमा विजय हुनेमा कत्तिको विस्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, “विजय त निश्चित छ । विजयको आधारहरुको कुरा गर्दा भक्तपुर कांग्रेसको राम्रो पकड भएको क्षेत्र हो । विगतमा हामीले निर्वाचन जितिरहेको क्षेत्र हो । ७४ सालको निर्वाचनमा हामी प्राविधिक कारणले मात्र पछाडि परेका थियौं ।” ठूलो अन्तरले हार्नुभएको थियो भनी प्रश्न गर्दा ठूलो अन्तरले हराएको पनि इतिहास छ भनी उनले भने । वि.स. २०१५ सालदेखि वि.स. २०७० सालसम्म निरन्तर जितिरहेको परिस्थिति छ । हार्ने जित्ने निरन्तर प्रक्रिया हो ।
अहिलेको सामाजिक संजालको नो नट अगेन मुभमेन्टलाई कसरी लिनुभएको छ भन्ने प्रश्नमा उनले भने, “म फ्रेश क्यान्डिडेट हो र मलाई यो मुभमेन्टले खासै फरक पार्दैन । नो नट अगेन केको लागि ? नो नट अगेन प्रतिगामीलाई, केपीओलीलाई नो नट अगेन, संसद विघटन गर्ने नो नट अगेन, प्रतिगामी नो नट अगेन, राजतन्त्र नो नट अगेन, २०६२, ६३ को उपलब्धिलाई आन्दोलनलाई कुठाराघात गर्ने नो नट अगेन ।”
प्रतिकृया