• १९ भदौ २०८३, शुक्रबार
  • १२ः४१ राती

आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ : आयुक्त डा. तुलाधार

प्रकाशित मिति

२०७९ कार्तिक २३ गते, बुधबार ०३:४६

२३ कात्तिक २०७९, काठमाडौँ : निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो ।


सबैसँगको सहकार्य र समन्वयबाट निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोग कटिबद्ध भएर लागेको आयुक्त तुलाधारको भनाई थियो । तुलाधारले आचारसंहिता पालनाले मात्र विश्वसनीय निर्वाचन सम्पन्न हुने भएकाले आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्नुभयो । “आचारसंहिताले स्वअनुशासनमा बस्न प्रेरित गर्छ, यो नैतिक बन्धन हो,” तुलाधारले भन्नुभयो, “आचारसंहिता सबैलाई समान रुपमा लागु हुन्छ ।”

Kamana Sewa

आचारसंहिता उल्लंघनका विषयमा आयोग कडा रुपमा प्रस्तुत हुने बताउँदै आयुक्त तुलाधारले आचारसंहिता उल्लंघन गर्ने सबैलाई कारबाही गरिने प्रष्ट पार्नुभयो । “आचारसंहिताको परिधिमा रहेर दलले प्रचारप्रसार गर्नुहोस्, प्रचारप्रसारमा कसैलाई नहोच्याउनुहोस्, दुष्प्रचार नगर्नुहोस्,” उहाँले भन्नुभयो । स्वअनुशासनमा बसेर आचारसंहितामा नचुक्न आग्रह गर्दै तुलाधारले दायित्व पालना गर्न सम्झाउनुभयो ।

Classic Tech Desktop

आयुक्त तुलाधारले मितव्ययी हिसाबले निर्वाचन सम्पन्न गराउने तयारी गरिएको बताउँदै निर्वाचन खर्च परिमार्जन गरिएको उल्लेख गर्नुभयो । निर्वाचन खर्चका सन्दर्भमा आयोगले तोकेको मापदण्ड बमोजिम तथ्याङ्क राख्न आग्रह गर्दै तुलाधारले भन्नुभयो, “यस विषयमा आयोगले सुक्ष्म रुपमा अध्ययन गरिरहेको छ ।”


संविधान र कानून बमोजिम आयोग आफ्नो कर्तव्य पालनामा प्रतिबद्ध रहेको बताउँदै तुलाधारले आयोगको काममा सरोकारवाला निकायको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । “स्थानीय तह निर्वाचनमा सरोकारवालाको भूमिकाले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ, मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि उत्तिकै सहयोगको अपेक्षा आयोगको छ,” उहाँले थप्नुभयो ।


मतदातालाई सचेत बनाउन तल्लो तहसम्म मतदाता शिक्षा सञ्चालन गरिएको र त्यसका लागि दल तथा उम्मेदवारहरूले सहयोग पुर्‍याउनुपर्ने उहाँको भनाई थियो । आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले निर्वाचन लोकतन्त्रको आधुनिक जग भएको बताउँदै निर्वाचनको महत्वपूर्ण कडी आचारसंहिता भएको उल्लेख गर्नुभयो ।

प्रतिकृया