आज विहान प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको ५७ वर्षको उमेरमा निधन
प्रकाशित मिति
२०७९ कार्तिक २३ गते, बुधबार ०३:३०

२३ कात्तिक २०७९, काठमाडौँ : प्रदेश १ का वन वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । उनको बुधबार बिहान उपचारका क्रममा निधन भएको हो । उनी मंसिर ४ मा हुन गइरहेकाे निर्वाचनमा प्रदेशसा सदस्यका उम्मेदवार समेत थिए । उम्मेदवारी मनोनयन दर्ताको भोलिपल्ट २४ असोजमा अचानक अस्वस्थ भएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार नभएपछि २५ दिन काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरियो । गम्भीर प्रकारको निमोनिया देखिएपछि थप उपचारका लागि २७ असोजमा हेलिकप्टरमा काठमाडौँ ल्याइएको थियो ।
२५ दिन काठमाडौंमा उपचार गर्दा उनको स्वास्थ्यमा सुधार भएपछि आफन्तले विराटनगर ल्याएर नोबेल मेडिकल कलेजमा भर्ना गरेका छन् । स्वास्थ्यमा सुधार भए पनि अत्यधिक कमजोर भएका कारण उनलाई निरन्तर अक्सिजन सहयोगमा राखिएको थियो । उपचारकै क्रममा उनको बुधबार बिहान निधन भएको हो । प्रदेश १ सरकारका वन वातावरण तथा भू-संरक्षण मन्त्री रहेका थापा कांग्रेसका पुराना नेता हुन् ।
गिरिजाप्रसाद कोइरालाको आठ वर्ष निजी सचिव भएर काम गरेर थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भएका थिए । यो पटक उनलाई पार्टीले प्रदेशमा प्रत्यक्षतर्फको टिकट दिएको थियो । क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट डा. सुनिल शर्मा, एमालेबाट भानुभक्त ढकाल र राप्रपाबाट नायिका रेखा थापा उम्मेदवार छन् । क्षेत्र नं. ३ को प्रदेश ‘क’ मा एमालेबाट किशोर राई र कांग्रेसबाट थापा उम्मेदवार छन् ।
निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले निधन भएका शेखरचन्द्र थापाप्रति दुःख व्यक्त गरेका छन् ।प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री एवं मोरङ क्षेत्र नम्वर ३ ‘१’ का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाजीको निधनको खवरले स्तव्ध भएको बताएका छन् । साथै मृतात्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
प्रतिकृया