पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढ्यो
प्रकाशित मिति
२०७९ कार्तिक ११ गते, शुक्रबार ०७:२३
११ कात्तिक, २०७९, काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएका छन्। तापक्रम घटेका कारण चिसो महसुस भएको उनले बताए। उनले अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तरपश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको उल्लेख गरे ।

तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनले जानकारी दिए। वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारे। अक्टोबर र नोभेम्बरमा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तल–माथि मात्रै रहने बताए । उनले डिसेम्बर सुरु भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने उल्लेख गरे ।
उनले भने, ‘विस्तारै गर्मी समय सकिएर जाडोयामतिर छिर्दै छौँ। मनसुनी वर्षा, गर्मीको समय थियो भने त्यो सकिएर अब हामी पोस्ट मनसुनमा लागेका छौँ। यो गर्मी सकिएको जाडो आउन लागेको अवस्था हो। अहिले नै जाडो पूरै भइसक्यो भन्ने अवस्था त छैन। यद्यपी मनसुन सकिएदेखि गतहप्ता देखि नै देशभरिको तापक्रम घट्दै गएको छ। रेकर्डेड तथ्यांकले पनि त्यही भन्छ। आज जुम्ला, जोमसोम, जिरी लगायतको क्षेत्रमा एक, जिरो डिग्रीको हाराहारीमा छ रातिको न्युनतम तापक्रम। जुन जाडो बढाउने तापक्रम हो। काठमाडौंमा पनि ११ डिग्रीको हाराहारीमा तापक्रम पुगेको छ आज बिहानको। त्यसैले तापक्रम घटेर चिसो महसुस भएको हो ।’

उनले मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले बिस्तारै जाडो हुँदै जानु स्वाभाविक भएको बताए। उनले आगामी एक हप्ता भने वर्षा हुने सम्भावना नरहेको स्पष्ट पारे। जाडो बढ्ने र घट्ने कुरा भने हावाको वहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उनको भनाइ छ। उनले भने, ‘चिसो लगातार घटेको घटेकै गर्दैन। कुनै दिन बादल लागेको अलिअलि चिसो हावा छ, उत्तरपश्चिमबाट हावा बहेको छ भने चिसो महसुस हुन्छ। दक्षिणपश्चिम अथवा हावाको दिशा कता बहन्छ त्यसमा निर्भर गर्ने गर्दछ। आकाशमा कत्तिको घाम लाग्छ दिउँसोको समयमा त्यसमा पनि भर पर्ने गर्दछ। दिउँसो बादल खुला भयो भनेदेखि दिनमा घाम लाग्नसक्यो। तापक्रम बढ्यो भने न्यानो महसुस हुन्छ। दिनप्रतिदिन गर्मी हुने अवस्था छैन। जाडो बिस्तारै हुँदै जाने गर्दछ। माइनसमा आएर कठ्यांग्रिने हुने पनि होइन। क्रमिक रुपमा जाडो क्रमशः बढ्दै जान्छ। वर्षा हुने सम्भावना एकहप्ता यता छैन ।’
वरिष्ठ मौसमविद् पौडेलले डिसेम्बर महिनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताउनु भयो। उनले शीतलहरको अवस्था पनि आउन सक्ने भएकाले त्यसबाट बच्ने पूर्वतयारी गर्न सुझाव दिए ।



प्रतिकृया