नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच सम्झौता
प्रकाशित मिति
२०७९ भाद्र ३० गते, बिहीबार ०७:२३
३० भाद्र २०७९, काठमाडौँ : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच नेपाल प्रहरी अन्तर्गतका कार्यालयहरूमा योगाभ्यास गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौर र पतंजलि योग समिति नेपालको तर्फबाट सोही समितिका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्रले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त सम्झौता पत्र आदानप्रदान समेत गरेका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी कर्मचारीहरूले योगको माध्यमबाट थप उर्जा प्राप्त गरी सक्रियताका साथ सेवा प्रवाहमा लाग्ने विश्वास व्यक्त गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर हुनुपूर्व पनि नेपाल प्रहरी प्रधान कार्यालय र विभिन्न तालिम प्रदायक कार्यालयहरूले योगाभ्यास गराउँदै आइरहेको चर्चा गर्दै आगामी दिनमा नेपाल प्रहरीले संस्थागत रूपमा योगाभ्यासका लागि प्रहरीबाटै दक्ष जनशक्ति उत्पादन गराउने लक्ष्य रहेको उनले बताए । कार्यक्रममा पतंजलि योग समिति नेपालका संरक्षक एवं पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले नेपाल प्रहरी र पतंजलि योग समितिबीचको सहकार्य एवं समन्वयमा विगतमा समेत विभिन्न योगाभ्यास गराउँदै आएको चर्चा गर्दै यो सम्झौता मार्फत आगामी दिनमा प्रहरी कर्मचारीहरू योगाभ्यासमा थप सहभागी हुने उल्लेख गरेका छन् ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुशील सिंह राठौरले शारीरिक, मानसिक र आत्मिकरूपमा स्वस्थ्य हुन योगाभ्यास महत्वपूर्ण हुने भएकोले यस सम्झौतामार्फत प्रहरी कर्मचारीहरू लाभान्वित हुने विश्वास व्यक्त गरेका छन् । सम्झौता अनुरूप नेपाल प्रहरी अन्तर्गतका तोकिएका कार्यालयहरू तथा तालिम प्रदायक निकायहरूमा संचालित तालिमका प्रशिक्षार्थीहरूलाई योगाभ्यास गराउने र तालिम प्रदायक निकायहरूमा योग प्रशिक्षक प्रशिक्षण गराउने लक्ष्य रहेको छ । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू एवं पतंजलि योग समिति नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कर्तव्य ज्यान मुद्दामा रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ
३० भाद्र, कर्तव्य ज्यान मुद्दामा ईन्टरपोलद्वारा रेड नोटिस जारी भई फरार रहेका प्रतिवादी धनुषा धनौजी गाउँपालिका ५ बहुअर्वा बस्ने राजिव कुमार मण्डललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजिव कुमार समेतका २ जनाले २०७८ भदौ २६ गते बिहान ज्यान मार्ने उद्देश्यले धारिलो हतियार तलवार प्रहार गर्दा गम्भीर घाइते भएका धनुषा धनौजी गाउँपालिका-५ बहुअर्वा बस्ने सरोज मण्डलको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा २०७८ चैत २८ गते मृत्यु भएको थियो । उक्त घटनामा संलग्न मण्डल उपर जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानको क्रममा नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखामा आवश्यक समन्वय गरेपश्चात इन्टरपोलद्वारा २०७९ भदौ १४ गते रेड नोटिस जारी गरिएको थियो । सो क्रममा ईन्टरपोल दोहा कतारसँगको आवश्यक समन्वयमा नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले मण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट पक्राउ गरी आवश्यक अनुसन्धान प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिई आएको प्रहरी टोलीलाई बुझाएको छ ।
युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
३० भाद्र, युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बु दुधकोशी गाउँपालिका-२ घर भई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका काडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले केही व्यक्तिहरुलाई वर्किङ भिषामा युके लगाएतका देशहरुमा रोजगारीको लागी पठाईदिन्छु भन्दै पीडितहरूबाट नगद १३ लाख ४६ हजार रुपैयाँ लिई सम्पर्क बिहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ धुम्वाराहीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरी प्रधमान कार्यालयले जनाएको छ ।



प्रतिकृया