बायर्नले च्याम्पियन्स लिगमा बार्सिलोनालाई हरायो
प्रकाशित मिति
२०७९ भाद्र २९ गते, बुधबार ०७:४७
२९ भाद्र २०७९, एजेन्सी : जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा क्याटलान क्लब बार्सिलोनालाई रहाउँदै लगातार दोस्रो जित निकालेको छ । बायर्नले घरेलु मैदानमा समूह ‘सी’ अन्तर्गतको खेलमा स्पेनिस क्लब बार्सिलोनाविरूद्ध २–० को सहज जित हात पारेको हो । बायर्नलाई जिताउन लुकास हर्नान्डेज र लिरोए सानेले एकरएक गोल गरे।
पहिलो हाफ गोल रहित बराबरी भएको खेलको ५० औं मिनेटमा लुकास हर्नान्डेजले गोल गर्दै बायर्नलाई सुरूआती अग्रता दिलाएका थिए। ५४ औं मिनेटमा सानले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। दुई गोलले पछि परेको बार्सिलोनाले त्यसपछि घरेलु टोलीमाथि बल पोसेसन राख्दै दवाव सिर्जना गरे पनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो।
यो जितसँगै दुई खेलबाट ६ अंक जोडेको बायर्न शीर्ष स्थानमा रहँदा पराजित बार्सिलोना समान खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा छ। यही समूहको अर्को खेलमा इटालीको इन्टर मिलानले पहिलो जित दर्ता गर्ने क्रममा चेक क्लब भिक्टोरिया पल्जेनलाई २–० ले हरायो।








प्रतिकृया