ङादी खोलामा १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण हुने
प्रकाशित मिति
२०७९ भाद्र १० गते, शुक्रबार ०१:०४
१० भाद्र २०७९, काठमाडौं: लमजुङको मर्स्याङ्दी गाउँपलिकाको ङादी खोलामा हव पावर प्रालिले १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो। पानीलाई १८३६. ५० मिटर लामो हेडरेस सुरुङ र ४१९ मिटर लामो पेनस्टक पाइपमार्फत् सतही विद्युतगृहमा पुर्याइनेछ। आयोजनाको अध्ययन पूरा भएकोले उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।
यही क्रममा विद्युत् विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी गरिरहेको छ। विभागले अनुमतिपत्र जारी गर्नुअघि सूचना प्रकाशन गरेर आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग रायरसुझाव मागेको छ।
सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी रायरसुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ। आयोजनाको मुख्य सूचनाहरू खोलाको बायाँ किनारमा रहनेगरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ।
आयोजनाबाट निर्माण सुरु गरेको ३ वर्षमा उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीको छ। आयोजना पूरा भएपछि वार्षिक ७७.६६८ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ। उत्पादीत विद्युत् १३२ केभी लाइनमार्फत ४ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको टारीकुना सबस्टेसनमा जोडिनेछ।







प्रतिकृया