• १ असोज २०८३, बिहीबार
  • १०ः१० बिहान

बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठी २०७९ सम्पन्न

प्रकाशित मिति

२०७९ श्रावण २६ गते, बिहीबार ०३:४१

२६ साउन २०७९, काठमाडौं: बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा “बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठी- २०७९” मंगलबार सम्पन्न भएको छ ।

National Life

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री खनालले पछिल्लो समय अपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गईरहेकोले अनुसन्धान अधिकृतको क्षमता विकास एवं प्रविधिमुलक अपराध अनुसन्धानका निमित्त अनुसन्धानमा प्रयोग हुने स्रोत साधनको व्यवस्थापनमा जोड दिनुपर्ने बताए। कार्यक्रममा बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता श्याम नारायण श्रेष्ठले पछिल्लो समय अपराधको ट्रेन्डमा परिवर्तन र यसको क्षेत्र फैलिदै गईरहेकोले प्रहरीलाई थप चुनौति थपिएको हुँदा प्रहरीले आफूलाई सोही अनुसार तयारी अवस्थामा राख्नुपर्ने बताए ।


कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराध अनुसन्धान प्रविधिमैत्री हुनुपर्ने चर्चा गर्दै अपराध अनुसन्धान गर्ने तल्लो ईकाईमा बास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा यस गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे । सोही अवसरमा चितवन जिल्लाका जिल्ला न्यायाधीश रितेन्द्र थापाले अपराध अनुसन्धानका तीन अवयवहरु अनुसन्धान, अभियोजन र न्यायालयबीच निरन्तर समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अपराध अनुसन्धान क्षेत्रलाई विशिष्टिकृत गरी मुद्धा शाखामा काम गर्ने प्रहरी कर्मचारीहरुलाई मोटिभेसन गर्नुपर्नेमा जोड दिए । सो अवसरमा उच्च सरकारी वकिल कार्यालय हेटौंडाका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले प्रहरीको क्षमता अभिवृद्धि गर्नुका साथै अनुसन्धानमा सरोकार राख्ने निकायसंगको समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए ।


गोष्ठीमा पहिलो चरणको उद्‌घाटन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले स्वागत मन्तव्य एवं कार्यक्रमबारे प्रकाश पारे । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद मन्तव्य व्यक्त गरेका छन् । गोष्ठीमा दोस्रो चरणको कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका ६ वटा जिल्लाका जिल्ला प्रहरी कार्यालय प्रमुखहरुले अपराध अनुसन्धानको समग्र बस्तुस्थिति र अनुसन्धानमा गरिएका नवीन प्रयोगहरुको विषयमा प्रस्तुतीकरण गरेका थिए ।


अपराध अनुसन्धानमा बढेको चुनौतिहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, बागमती प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने ईकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरुबीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयबीच समन्वयको विकास गर्ने उद्देश्यका साथ उक्त गोष्ठी आयोजना गरिएको हो ।

प्रतिकृया