• 6:39 pm

समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरियो: सांसद दुर्गा पौडेल

प्रकाशित मिति

२०७९ श्रावण २४ गते, मंगलवार ०३:५९

२४ साउन २०७९, काठमाडौं: राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसदलाई विभेद गरिएको बताएकी छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। सांसद पौडेलले प्रत्यक्ष निर्वाचित सदस्यलाई जति अधिकार छ, त्यो पूर्ण अधिकार समानुपातिक सदस्यलाई पनि छ भन्ने कुरा ऐन बनाएर जान जरुरी रहेको बताइन्। उनले निर्वाचन प्रणालीमा प्रत्यक्षतर्फको लागि महिलाको हकमा सम्बन्धित कोटा छुट्याउन पनि माग गरिन्।


सांसद पौडेलले भनिन्, ‘महिलालाई हेर्ने दृष्टिकोण हरेक पार्टीहरूमा दोस्रो दर्जाकै हो भन्ने जुन दृष्टिकोण छ, त्योभन्दा माथि अहिलेसम्म हेर्दा पार्टीहरूमा त्यो चेत र त्यो प्रकारको सोच अहिले पनि रहेको पाइन्छ। त्यसैले निर्वाचन प्रणाली त प्रणाली हो, तर त्यसमा पनि विभेद गरियो नि। हामीले प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली त प्रणाली त्यो मिश्रित प्रणालीलाई अपनाइ सकेपछि त्यसबाट विजयी बनेको सदस्यको त पूर्ण हक बराबर हुनुपर्ने हो। तर हामीले विभेद गरियो। त्यस्तो विभेदलाई
हटाउनको लागि हामीले मिश्रित प्रणाली अपनाएपछि कानुन नै बनाएर जानुपर्छ। प्रत्यक्ष निर्वाचित सदस्यलाई जति अधिकार छ, त्यो पूर्ण अधिकार समानुपातिक सदस्यलाई पनि छ भन्ने कुरा हामीले ऐन बनाएर जानुपर्छ। त्यसमा विभेद गर्न पाइँदैन। निर्वाचन प्रणालीमा प्रत्यक्षतर्फको लागि महिलाको हकमा सम्बन्धित कोटा छुट्याइयोस्। त्यो निर्वाचित क्षेत्र आरक्षित गरियोस्। कति संख्या छुट्याउने भन्नेबारेमा छलफल गरौँ। महिला र दलितलाई प्रत्यक्षतर्फ आरक्षित कोटा हुनुपर्छ।’


उनले हरेक राजनीतिक पार्टीमा महिलालाई हेर्ने संकुचित दृष्टिकोण रहेको भन्दै सोच र व्यवहार परिवर्तन गरेर महिला पनि नेतृत्व लिनका लागि सक्षम छन् भन्ने कुरामा विश्वस्त हुन आवश्यक रहेको पनि बताइन्।

प्रतिकृया