• २१ भदौ २०८३, आइतबार
  • २ः१५ दिउँसो

मुम्बई जान जहाज चढिसकेका सन्तोषकुमार लामिछाने किन समातिए विमानस्थलबाट ?

प्रकाशित मिति

२०७९ श्रावण १८ गते, बुधबार ०५:२९

बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलबाट एक जना पुरूष समातिए । नेपाल एयरलाइन्सको आरए ४०१ जहाज उड्नलाई ठिक्क परेको थियो। जहाजमा चालक दलका सदस्यसहित १४१ यात्रु थिए। प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोली विमानस्थल पुग्यो। टोलीले तत्कालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय र नेपाल एयरलाइन्ससँग समन्वय गरी जहाजको उडान रोक्न लगायो।

National Life

त्यसमा पसेर प्रहरीले ती यात्रुलाई झारे र हिरासतमा लियो। ती यात्रु श्रीमतीसहित मुम्बई जान लागेका थिए। प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईका अनुसार पक्राउ परेका व्यक्ति कैलालीको धनगढी उपमहानगरपालिका-२ का सन्तोषकुमार लामिछाने हुन्।


जिल्ला प्रहरी कार्यालय कैलालीले एक जना व्यक्ति भाग्न लागेको भनेर प्रहरी प्रधान कार्यालयलाई खबर गरेको थियो। खबरसँगै प्रधान कार्यालयबाट टोली खटिएको थियो। ‘यहाँबाट मुम्बई जान लागेका रहेछन्। बोइङ पास लिएर जहाजमा चढिसकेका रहेछन्,’ राईले भने, ‘पछि यो मान्छे भाग्न लागेको छ भनेर कैलालीबाट खबर आएपछि हाम्रो टोली गयो। तपाईं झर्नुपर्‍यो भनेर पक्राउ गरिएको हो।’

Classic Tech Desktop

उनका अनुसार लामिछानेमाथि चोरीमा संलग्न भएको आरोप छ। अनुसन्धान भइरहेकै बेलामा उनी भाग्न लागेको भन्ने खबर पाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनी सुनचाँदी व्यवसायी हुन्। प्रहरीका एक उच्च अधिकारीका अनुसार उनले भारतमा चोरी गरेका थिए। त्यहाँ चोरी गरी धनगढी आएका थिए।


‘भारतमा चोरी गरी धनगढी आएका रहेछन्। त्यहाँ सोधपुछ भइरहेको रहेछ,’ उनले भने, ‘चोरी के कति गरेको हो भन्ने अनुसन्‍धानबाट खुल्छ।’ अनुसन्धान गर्न प्रहरीले उनलाई कैलाली नै पठाउने तयारी गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार उनी भारतमा चोरी गरेर नेपाल आएको समूहमध्येका एक जना हुन्।


‘भारतमा चोरी गरेको एउटा समूह छ। त्यसमा संलग्न एक प्रमुख व्यक्ति हुन्। त्यहाँ चोरेर यहाँ आएको हुँदा अनुसन्धानको लागि रोकिएका हुन्,’ उनले भने, ‘अरू मान्छेहरूमाथि पनि सोधपुछ गर्ने काम त भइरहेकै थियो।’ चोरी गरिएको भने पनि उनले के-कति सामान चोरी गरेको भन्ने कार्यालयले खुलाएको छैन।

प्रतिकृया