• १७:४० २०८० चैत्र ६ गते
  • 5:40 pm

पर्यटन पुनर्स्थापनाको लागि ७३ बुँदे कार्ययोजना सार्वजनिक

प्रकाशित मिति

२०७९ श्रावण ८ गते, आईतवार ०१:५८

293951396 1114663126155772 7720725051124698440 n e1658650426231

८ साउन २०७९, काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि दिगो योजना सार्वजनिक गरेको छ। मन्त्रालयले पर्यटन, हवाई, राष्ट्रिय संस्कृति, पर्यटन बोर्ड, पर्वतारोहण सम्बद्ध कानुन संशोधन गर्ने योजना बनाएको छ। मन्त्रालयले ‘क्लिन नेपाल ग्रीन नेपाल’ को अवधारणामा मुलुकभरका पर्यटकीय गन्तव्यमा निजी क्षेत्रको सहकार्यमा सरसफाइ गर्ने योजना बनाइएको जनाएको छ।


‘मोस्ट ह्यापनिङ डेस्टिनेसनु बनाउनका साथै काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरलाई रात्रिकालीन गन्तव्य बनाउने योजना पनि रहेको मन्त्रालयले जनाएको छ। यसैगरी विदेशी पर्यटक संख्या वृद्धिका लागि गैर आवासीय नेपालीको सहकार्यमा ‘एक नेपाली एक विदेशीको अवधारणा लागू गर्ने जनाइएको छ। मन्त्रालयले भारतीय र बंगलादेशका पर्यटक लक्षित चितवनलाई वेडिङ डेस्टिनेसनका रूपमा विकास गरिने घोषणा गरेको छ।


उड्डयन क्षेत्रलाई चुस्त बनाउन नेपालमै अन्तर्राष्ट्रिय स्तरको फ्लाइङ स्कुल सञ्चालनमा ल्याइने जनाएको छ। पोखरा र भैरहवा विमानस्थलमा उडान-अवतरण गर्ने वायु सेवालाई विमानस्थल सेवा शुल्कमा छुट दिनका साथै चार्टर उडान गर्ने वायुसेवालाई विशेष छुट दिने योजना छ। मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने योजना बनाएको छ। यसैगरी दुर्गम क्षेत्रमा हवाई सेवा दिने कम्पनीले जहाज संख्या थप्दा निश्चित कर छुट दिने व्यवस्था लागू गरिने मन्त्रालयले जनाएको छ। धेरै यात्रु भित्र्याउने पर्यटनसँग सम्बद्ध क्षेत्रलाई छुटको व्यवस्था गरिदिने जनाएको छ।


अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न भाषासहित प्रस्थान कक्षमा ड्युटी फ्री सप सञ्चालनमा ल्याउने योजना मन्त्रालयले बनाएको छ।नेपाल वायु सेवा निगमको टिकेटिङ अनलाइनमा परिमार्जन गर्नका साथै ग्राउन्ड ह्यान्डलिङ थप चुस्त बनाउने पनि योजनामा छ। यसैगरी रारा, खप्तडमा गुणस्तरीय होटल सुविधा विस्तारका लागि सम्भावित अध्ययन गरिने छ। तारेस्तर होटलमा सिंगल युज प्लास्टिकजन्य सामाग्री हटाउनुका साथै पर्यटक आवगमन बिन्दुमा आधुनिक शौचालय तयार गर्ने जनाइएको छ।


पर्यटकलक्षित स्पा, वेलनेस, मेडिटेसनयुक्त भ्रमण प्याकेज बनाउने योजना रहेको मन्त्रालयले जनाएको छ। पर्यटकीय यातायात अन्तर्गतको सवारीसाधन ल्याउदा छुटको व्यवस्थासँगै छुट्टै अन्तर्राष्ट्रिय स्तरको बसपार्क तयारीको योजना पनि छ। डिजिटल टुरिजम डेस्टिनेसन तयारीसँगै रेस्टुरेन्ट, फुड एन्ड वेभेरेज, टुरिस्ट भेहिकल, र्‍याफ्टिङ, ट्रेकिङ लगायतमा नयाँ निर्देशिका जारी गर्ने जनाइएको छ।


मन्त्रालयले अन्नपूर्ण आधारशिविरमा विश्वका बिभिन्न मुलुकका पर्यटन मन्त्रीको सम्मेलन गर्ने जनाएको छ। मुलुकको पर्यटकीय गन्तव्य प्रचारप्रसारका लागि विदेशी फिल्म निर्माण गर्न सहुलियत दिने जनाइएको छ। मन्त्रालयले सार्वजनिक गरेका ७३ बुदे कार्ययोजनाले मुलुकको पर्यटन क्षेत्रलाई दिगोरूपमा प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले बताए।


‘नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि यी काममा केन्द्रीत हुनेछौं। हामीले न्युनतम एक महिना समयसीमा राखेर यी योजना पूरा गर्ने तरिकाले काम अगाडि बढाउने छौ,’ उनले भने, ‘अब कुन एउटा वर्ष मात्र नभइ दशक पर्यटन वर्ष अवधारणालाई अगाडि बढाउनेछौं।’ श्रेष्ठको नेतृत्व लगत्तै कार्ययोजना बनाउनका लागि कार्यदल गठन भएको मन्त्रालयले जनाएको छ। पर्यटन क्षेत्र सरकार र निजी क्षेत्रको सहकार्यमा यो कार्ययोजना सफल हुनु भनेकै सबैको सफलता रहने मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए।

प्रतिकृया