तीनै तहका सरकारसम्बद्ध बजार अनुगमन तथा नियामक नियकायहरु क्रियाशील बनाउन पहल सुरु भइसक्योः मन्त्री बडू

प्रकाशित मिति

२०७९ असार १६ गते, बिहीबार ०२:२५

2 2 scaled e1656578402356

१६ असार २०७९, काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आ—आफ्नो क्षेत्राधिकारभित्र रहेका वस्तु तथा सेवाका क्षेत्रमा प्रभावकारी रुपमा अनुगमन तथा नियमन गर्न सम्बद्ध निकायलाई क्रियाशील बनाउन मन्त्रालयले पहल सुरु गरेको बताउनुभएको छ ।


मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बडूले विभिन्न प्रकारका दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा व्यापक जनगुनासो बढिरहेकाले यसको नियन्त्रण गर्न सबैपक्षले गम्भीरताका साथ लाग्नु पर्ने र त्यसका लागि एकीकृत रुपमा अगाडि बढ्न वाणिज्य मन्त्रालयले अरु मन्त्रालय र सम्बद्ध निकायसँग छलफल गरि आवश्यक काम सुरु गरिसकेको जानकारी दिनुभयो ।


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलगायत नियामक निकायले नियमित रुपमा अनुगमन गरिरहेको तर यसले मात्रै सबै क्षेत्रको समस्या समाधान हुन नसक्ने भन्नुहुँदै मन्त्री बडूले अन्य विभागीय मन्त्रालय, सात प्रदेश, ७७ जिल्ला तथा ७५३ वटै पालिकाका अनुगमन संयन्त्रले पनि आफ्नो क्षेत्राधिकारमा रहेका सेवा तथा वस्तुहरुको मूल्य, गुणस्तर र लेबलिङको नियमित अनुगमन मूल्यांकन गर्नुपर्ने बताउनुभयो।


‘तिनै तहका सरकारसम्बद्ध बजार अनुगमन तथा नियामक निकायहरु बीच उचित समन्वय तथा तिनै तहका नियामक निकायहरुका कार्यजिम्मेवारीलाई प्रभावकारी बनाउने विषयमा हामीले समन्वय गरिरहेका छौं’ मन्त्री बडूले भने‘भर्खरै सबै मन्त्रालयका सचिव तथा सरोकारवालासँग अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुलगायत वस्तु तथा सेवाको मूल्य, गुणस्तरको प्रभावकारी अनुगमन गर्ने तथा कालोबजारी गर्ने, कृत्रिम अभाव र मूल्यवुद्धि गर्ने, गुणस्तरहिन, म्याद गुज्रिएका सामान विक्री वितरण गर्ने व्यवसायीलाई सम्बन्धित नियमनकारी निकायबाट नियमन, अनुगमन तथा कारवाही गर्नुपर्ने कुरा गरेका छौ।’


उहाँले अहिले अनुगमन अधिकारी नतोकिएका स्थानमा यही १६ गतेभित्र अनुगमन अधिकारी तोक्न भनेर पत्राचार गरिसकेको र यो काम सकिएपछि लगत्तै बजारमा संयुक्त रुपमा हस्तक्षप गर्ने योजना बनाइरहेको जानकारी दिनुभयो । मन्त्री बडूले इन्धनको मूल्य बढेको बहानामा अन्य उपभोग्य वस्तुको मूल्य बढे पनि सरकारले पेट्रोलमा २०, डिजेल र मट्टितेलमा २९-२९ रुपैयाँ घटाउँदा त्यहीअनुसार मूल्य घट्नुपर्ने र त्यसो नभएको पाइए कडाकारवाही गरिने स्पष्ट पार्य ।

प्रतिकृया