• १४:३४ २०८० चैत्र १६ गते
  • 2:34 pm

सेनाको प्राथमिकता ‘शान्ति मिसन’,विश्व शान्तिका लागि सेना पठाउने देशमध्ये संख्याको हिसाबले नेपाल दोस्रो

प्रकाशित मिति

२०७९ असार १६ गते, बिहीबार ११:३०

thumb 3 e1656567757256

१६ असार २०७९, काठमाडौंः लेबनान र सिरियामा शान्ति स्थापनाका लागि नेपाली सैनिकहरूले खेलेको भूमिकाबारे जानकारी लिएका प्रधानसेनापति प्रभुराम शर्मा त्यतैबाट अमेरिकाको औपचारिक भ्रमणमा निस्किएका छन् । शर्माको अमेरिका भ्रमणको मुख्य उद्देश्य नेपाली र अमेरिकी सेनाबीचको सम्बन्धलाई सुमधुर बनाउने हो । सँगसँगै उनले संयुक्त राष्ट्रसंघ (यूएन) को कार्यालयमा नेपाली सेनाको शान्ति मिसनका बारेमा छलफल गर्नेछन् ।


असार ४ देखि १२ सम्म लेबनान र सिरियामा शान्ति सैनिकका काम र त्यहाँ सरकारका पदाधिकारीसँग भेटवार्ता गरेका उनले यूएनको मुख्यालयमा शान्ति मिसन र अन्य सम्बन्धका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । विश्व शान्तिका लागि सेना पठाउने देशमध्ये संख्याको हिसाबले नेपाल दोस्रो नम्बरमा छ । नेपाली सेनाका अनुसार बुधबारसम्म विश्वभरका विभिन्न ११ मिसनमा ५ हजार ५ सय ७० सैनिक शान्ति स्थापनाका लागि खटिएका छन् ।


नेपाल सन् १९५५ मा यूएनको सदस्य भएको थियो । त्यसपछि सन् १९५८ मा लेबनान र १९६६ मा भारत–पाकिस्तानमा ‘मेलिटरी अब्जर्भर’ र त्यसपछि सन् १९७४ मा इजिप्टको सिनाईमा शान्ति सैनिक फौज पठाएर नेपाली सेनाले विश्व सुरक्षाका लागि कदम अघि बढाएको हो । हालसम्म नेपाली सेनाले विभिन्न मुलुकका ४४ भन्दा बढी मिसनमा १ लाख ४० हजार ३ सय ५४ शान्ति सैनिक पठाइसकेको छ ।


शान्ति मिसनमा खटिने क्रममा नेपालका ७० सैनिकले ज्यान गुमाएका छन् भने ६७ जना घाइते भएका छन् । नेपालले सैनिकका साथै इन्जियिनर, मेडिकल टिम र स्पेसल फोर्ससमेत मिसनमा पठाइरहेको छ । सिरिया, लिबिया, इराक, कंगो, हाइटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, कंगो, मालीलगायत द्वन्द्वग्रत मुलुकमा नेपाली सैनिकले शान्ति स्थापनाका लागि काम गरेका छन् । पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकालमा चार वर्षअघि नेपालले करिब १० हजार शान्ति सैनिक एक वर्षमा पठाउने प्रस्ताव गरेको थियो । कुल सैनिक संख्याको १० प्रतिशत शान्ति मिसनमा जान पाउने निर्णय सरकारले गरेको छ । नेपाली सेनामा हाल करिब ९६ हजारको दरबन्दी छ ।


यूएन मिसनमा हालसम्म नेपाली सैनिकले उच्च तहमा ‘फोर्स कमान्डर’ को जिम्मेवारी सम्हालिसकेका छन् । रथी ईश्वर हमाल अहिले ‘फोर्स कमान्डर’ छन् । पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा, पूर्वरथी बालानन्द शर्मा तथा अन्य जर्नेलहरू कृष्णनारायण थापा, भिक्ट्रीशमशेर राणा र पवनजंग थापाले पनि नेपालको तर्फबाट फोर्स कमान्डरको जिम्मेवारी सम्हालिसकेका छन् । सेनाका अनुसार दुई उपरथीले ‘फोर्स कमान्डर’ का लागि निवेदन दिएका छन् ।


सेनाले सञ्चालन गर्दै आइरहेको सैनिक कल्याणकारी कोष विश्व शान्तिमा योगदान गरेरै आएको पैसाबाट ०३२ सालमा स्थापित संस्था हो । कोषमा अहिले ६० अर्बभन्दा बढी पैसा छ । विश्व शान्तिका लागि योगदान हुने र सैनिकलाई आयआर्जनका लागि लाभ हुने कारणले गर्दा प्रधानसेनापति शर्माले पनि आफ्नो भ्रमणका क्रममा शान्ति मिसनलाई प्राथमिकता दिएका छन् । ‘मिसनहरूमा प्रधानसेनापति शर्माले गर्नुभएको भ्रमणले प्रमुखता पाएको छ, संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा नेपाल र नेपाली सेनाको निरन्तरता, दिगो र प्रभावकारी सहभागिताका लागि महत्त्वपूर्ण छ,’ सैनिक प्रवक्ता नारायण सिलवालले भने ।


शर्माको टोलीमा न्युयोर्कस्थित यूएनका लागि नेपालका नियोग प्रमुख अमृतकुमार राई, रक्षासचिव किरण शर्मालगायत थिए । भ्रमणमा उपस्थित एक सैनिक अधिकारीका अनुसार शर्माको प्रतिनिधिमण्डलले प्रत्येक मिसनका नेतृत्वसँग अन्तक्र्रिया गरी शान्ति सेनाको कार्यसम्पादनबारे जानकारी लिएको थियो । सेनाका अनुसार भ्रमणले नेपाल र शान्ति मिसन खटिएका राष्ट्रहरूबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउन मद्दत गरेको छ ।


पूर्वउपरथी पूर्ण सिलवालले बंगलादेशपछि नेपाल दोस्रो ठूलो शान्ति सैनिक पठाउने मुलुक भएकाले पनि प्रधानसेनापति शर्माले आफ्नो भ्रमणमा प्राथमिकता दिएको बताए । ‘नेपाली सेनालाई यूएनमा पनि प्राथमिकतामा राख्छन् किनकि हामी धेरै शान्ति सैनिक पठाउनेमध्ये दोस्रोमा छौं,’ उनले भने, ‘हामीले यूएनको डिपान्र्टमेन्ट अफ पिसकिपिङ फोर्सअन्तर्गत रहेर काम गरिरहेका हुन्छौं । नेपालले लिबिया र इराकमा डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्सअन्तर्गत पनि काम गरिरहेको छ ।’

प्रतिकृया