आज इंग्लिस प्रिमियर लिगको उपाधि टुंगो लाग्दै
प्रकाशित मिति
२०७९ जेष्ठ ८ गते, आईतवार ०६:१२
८ जेठ २०७९, एजेन्सी : सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि टुंगो आज राति लाग्दै छ। प्रिमियर लिगको अन्तिम दिन आज १० खेल हुँदैछ। जसमा उपाधि भिडन्तमा रहेका शीर्ष स्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको लिभरपुलले आ(आफ्ना प्रतिद्वन्द्वीविरूद्ध खेल्ने खेल बहुप्रतिक्षित छन्।
सिटीले अन्तिम दिन एस्टन भिल्लासँग घरेलु मैदानमा खेल्दैछ। लिभरपुल र वुल्भ्सबीच लिभरपुलको मैदानमा खेल हुँदैछ। दुवै खेल राति ८स्४५ बजे सुरू हुनेछ। सिटीको प्रतिद्वन्द्वी एस्टन भिल्ला ४५ अंक जोड्दै १४औं स्थानमा छ। उसले पछिल्ला दुई खेलमा बराबरी खेलेको छ। लिभरपुलको प्रतिस्पर्धी वुल्भ्स ५१ अंकसहित आठौं स्थानमा छ।
वुल्भ्सले पछिल्ला पाँच खेलमा जित निकाल्न सकेको छैन। उसले पाँच मध्ये तीन खेलमा हार बेहोरेको छ। अघिल्लो खेलमा बराबरीमा रोकिएको सिटीले त्यसअघि लगातार जित निकालेको थियो। लिभरपुलले भने पछिल्ला पाँच खेलमा एक खेलमा बराबरी खेल्दा चार खेलमा जित हात पारेको छ।
अन्तिम खेलअघि शीर्ष स्थानको सिटीको ९० अंक छ। दोस्रो स्थानको लिभरपुलको ८९ अंक छ। शीर्ष स्थानको सिटीलाई उपाधि जित्न आजको खेलमा जित निकाले पुग्छ। बराबरी वा हार बेहोरेको अवस्थामा भने सिटीलाई पछि पारेर लिभरपुलले उपाधि जित्न सक्छ। त्यसका लागि लिभरपुलले जित निकाल्नु पर्छ।
लिभरपुलले बराबरी वा हार बेहोरेको अवस्थामा सिटीलाई फाइदा हुनेछ। किनभने सिटी पराजित भए पनि उपाधि जित्नेछ। सिटीले हारेमा तथा लिभरपुलले बराबरी खेलमा दुवै टिमको बराबरी अंक हुनेछ। जसमा गोलअन्तरमा सिटी अघि रहेकाले सिटीले उपाधि जित्नेछ। गत सिजन सिटीले उपाधि जितेको थियो। २०२० मा लिभरपुल च्याम्पियन बनेको थियो। सिटीले पछिल्लो १० वर्षमा पाँच पटक प्रिमियर लिगको उपाधि जितेको छ।








प्रतिकृया