• १६ असोज २०८३, शुक्रबार
  • ६ः२७ बिहान

तनाव कसरी हटाउने ? यस्ता छन् उपाय

प्रकाशित मिति

२०७९ जेष्ठ ७ गते, शनिबार ०७:३९

७ जेठ २०७९, काठमाण्डौं : तनावग्रस्त जीवनले मान्छेको मन र शरीरलाई हानि पुर्‍याउँछ। निरन्तर तनावका कारण अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव ग्रस्त जीवनबाट छुट्करा पाउनको लागि विभिन्न उपायहरु अपनाउनुपर्छ ।

National Life

यस्ता छन् उपायहरु
विश्राम गर्ने

काममा कहिलेकाहीँ हामी यति व्यस्त भएका हुन्छौँ कि विश्राम गर्न पनि भुल्छौँ। विश्राम कम भयो भने यसले तनाव उत्पन्न गराउँछ।


साथीहरू सँग भेट्ने
मनमा कुनै कुरा खेलिरहेको छ अथवा कुनै कुराको चिन्ता छ भने साथीभाइसँग भेटघाट गर्ने । साथीभाइबीच हाँसखेल चल्छ, जसले तनाव कम गरिदिन्छ। सामान्य बेला पनि फुर्सद निकालेर बेलाबेलामा मिल्ने साथीभाइसँग भेटघाट गर्नु राम्रो हुन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

अनावश्यक विवाद नगर्ने
सरोकार नभएको विवादमा भरसक मुछिनु हुँदैन। यसो गर्दा अनावश्यक तनाव लिनुपर्दैन।


पुरानो कुरा बिर्सिने
पुरानो कुनै कुराले तपाईंलाई चिन्तित बनाउने गर्छ भने त्यस्तो कुरा बिर्सिने प्रयास गर्नुस्। यसका लागि वर्तमानका अथवा भविष्यका कुरा सम्झिने गर्नुस्। बिस्तारै यस्तो गर्दै जानुभयो भने तपाईं विगतको धङधङीबाट बिस्तारै बाहिर निस्किँदै र तनावमुक्त हुँदै जानुहुन्छ।


खुशी रहने
तनाव कम गरी मनलाई प्रसन्न र स्वस्थ राख्न ‘लाफ्टर थेरापी’ गर्ने गरिन्छ। यसका लागि बिनाप्रयोजन बेस्कन हाँस्ने गर्नुस्। सक्नुहुन्छ भने पेट मिचीमिची हाँस्ने गर्नुस्। यसरी हाँस्दा शरीरमा मनलाई प्रसन्न बनाउने हार्मोनको उत्सर्जन बढ्छ, जसले गर्दा तनाव स्वतः कम हुन्छ।


मदिरापान नगर्ने
कुनै कुराले पिर परेको छ अथवा तनाव सिर्जना गराएको छ भने यसलाई भुल्न मदिराको सहयोग लिनेहरू धेरै छन्। तर, बढी मदिरा लिने गर्नुभयो भने यसले तनाव घटाउने होइन, थप बढाउँछ। यसले तपाईंको आर्थिक र पारिवारिक जीवनमा तथा स्वास्थ्यमा पनि असर गर्छ, जसले गर्दा तनाव घट्नुको सट्टा थपिन पुग्छ।


कफी, चिया कम पिउने
कामका बीच तनाव कम गर्ने बहानामा चिया, कफीजस्ता क्याफिनजन्य पेय पदार्थ बढी खाने गर्नुभयो भने यसले तपाईंलाई अझ तनावमा पार्छ। किनकि, यसले तपाईंको शरीरलाई डिहाइड्रेट गरिदिनुको साथै निद्रालाई पनि कम गरिदिन्छ। पानी र निद्रा कम भएको शरीर तनावरहित हुन सक्दैन।


धेरै भावुक नहुने
एउटा भनाइ छ– अतिले खती गर्छ। स–साना कुराले भावुक बनाउने गरेको छ भने तपाईं तनावग्रस्त अवस्थामा पुगिरहनुहुन्छ। यदि, आफू बढी नै भावुक छु जस्तो लाग्यो भने भावुक बनाउने कुराबाट अन्तै मन डुलाउने प्रयास गरेर यसलाई कम गर्न सकिन्छ।


डाक्टरसँग परामर्श लिने
यदि तपाईंलाई बढी नै तनाव हुन्छ र यसले निदाउन नदिने गर्न थालेको छ भने डाक्टरसँग परामर्श लिइहाल्नुपर्छ। डिप्रेसन हुँदा पनि यस्तो अवस्था उत्पन्न हुन सक्छ। डिप्रेसन भएको रहेछ र समयमै औषधि खानुभएन भने तपाईंको मानसिक स्वास्थ्य अझ बिग्रिँदै जान सक्छ।


छ देखि आठ घण्टासम्म सुत्ने
जस्तोसुकै व्यस्त हुनुहुन्छ भने पनि पर्याप्त निद्राका लागि समय छुट्याउने गर्नुपर्छ। छदेखि आठ घण्टासम्म दिनहुँ सुत्नुभएन भने तपाईंको मन स्वस्थ रहन सक्दैन। तनावग्रस्त अवस्थामा हुनुहुन्छ भने त अझ निद्राको अवधि पूरा होस् भन्नेमा चनाखो बन्नुपर्छ।


नियमित व्यायाम गर्ने
योग, व्यायाम नियमित गर्ने गर्नुभयो भने शरीरमा अक्सिजनको ‘इन्टेक’ बढ्छ। रगतमा अक्सिजनको मात्रा बढ्यो भने यसले तपाईंलाई आलस्य, चिन्ता, तनावबाट मुक्त हुन मद्दत गर्छ।

प्रतिकृया